नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कोशी प्रदेश सरकारमा सहभागी बनेको छ।
नेकपाको सरकारमा सहभागिता भएसँगै एमाले र नेकपाबीच साउन ९ मा भएको तीन बुँदे सहमति कोशीमा कार्यान्वयन भएको छ।
कोशीमा नेकपाले चार मन्त्रालय सहित पाँच जनालाई मन्त्रिपरिषदमा पठाएको छ। उनीहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
नेकपाबाट इलामकी खिनु लङ्वा लिम्बू पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएकी छन्। सोलुका गोम्बु शेर्पा आन्तरिक मामिला तथा कानून, मोरङकी गीता तिम्सिना सामाजिक विकास, र जीवन आचार्य भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन्।
यस्तै, सपना परियारलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
नेकपा सरकारमा भित्रिएसँगै एमालेका तर्फबाट मन्त्री बनेकाहरूको जिम्मेवारी हेरफेर भएको छ।
यसअघि आन्तरिक मामिला सम्हालिरहेका इन्द्रमणि पराजुलीलाई स्वास्थ्य र सामाजिक विकास मन्त्री रहेका रामप्रसाद मेहतालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ। त्यसैगरी आन्तरिक मामिलामै कार्यरत उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ।
एमालेका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठकको जिम्मेवारी भने यथावत छ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।
कार्यक्रममा मुख्यमन्त्री हिक्मत कार्कीले राज्यमन्त्रीलाई शपथ गराएका थिए।