नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निवर्तमान सभापति शेरबहादुर देउवा तटस्थ रहेर स्वदेश फर्किने अपेक्षा रहे पनि कुनै एक गुट नेताको रूपमा आएको टिप्पणी गरेका छन्।
उनले आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै देउवा रेफ्रीको भूमिकामा स्वदेश आउने अपेक्षा रहे पनि कुनै टिमको जर्सी लगाएर आएको बताए।
‘हामीले अपेक्षा गरेका थियौं, शेरबहादुर दाइ रेफ्री भएर फर्कनुहुन्छ। कुनै टिमको जर्सी लगाएर फर्किनु हुन्न भन्ने थियो,’ उनले भने।
देउवा हङकङ र सिंगापुरमा ५ महिना उपचार गरी हालै स्वदेश फर्केका थिए भने साउन २९ देखि ३१ गतेसम्म संस्थापनइतर पक्षको भेलामा सहभागी रहेका थिए।
महामन्त्री पौडेलले देउवा विचारको उचाइले भन्दा पनि गुट र शक्ति केन्द्रबाट राजनीति गरेको आरोप लगाए।
‘शेरबहादुर दाइले विचारको उचाइ बनाएर राजनीति गर्नुभएको होइन। गुट बनाएर शक्तिसँग जोडिएर शक्तिकेन्द्र बनाएर राजनीति गर्नुभएको हो। विचारको उचाइ प्राप्त गर्ने अवसर उहाँले गुमाउनुभयो, हामी धेरै चिन्ता नगरौं,’ उनले भने।
चुनदेवी सम्पर्क कार्यालयमा राखिएको नेमप्लेटतर्फ संकेत गर्दै उनले थपे, ‘सभापतिको नेमप्लेट राखेर कोही सभापति हुने होइन। वैधानिक मान्न नमिल्ने भेलामा दस्तावेज प्रस्तुत केही हुने होइन।’
उनले महाधिवेशन पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १६ देखि १९ गतेसम्म हुने भन्दै तल्ला तहका अधिवेशन कार्यतालिका भने पार्टीभित्र सहमति प्रयासका लागि केही पर धकेल्ने बताएका थिए।