नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवाका सन्दर्भमा सोमबार केन्द्रीय कार्यसमिति बैठकबाट केही टिप्पणी गरेका छन्।
निवर्तमान सभापति देउवालाई केही भन्नुपर्ने कुरा छ भन्दै प्रसंग सुरू गरेका सभापति थापाले भने, 'दाइ तपाईंलाई साथीहरूले नेमप्लेट राखेर सभापति भनेर राखिदिएछन्, मलाई अलिकति नरमाइलो लाग्यो।'
चुनदेवी सम्पर्क कार्यालयमा साउन २८ गते 'शेरबहादुर देउवा, सभापति' लेखिएको नेमप्लेट राखिएको थियो। उक्त नेमप्लेट आफूले कोही पनि नेतालाई नसोधी आफै राखिदिएको पूर्णबहादुर तामाङ (कान्छाराम) ले संस्थापनइतरको साउन २९ गतेको राष्ट्रिय भेला उद्घाटन समारोहमा खुलाएका थिए।
सभापति थापाले थप विषय अघि बढाए।
उनले विगत केन्द्रीय समिति बैठक र पदाधिकारी बैठक सम्झिँदै केही विषयमा ध्यानाकर्षण गराउँदै 'यसो नगरौं' भन्नेजति सबैलाई पराईको व्यवहार गरिएको बताए।
'जसले वरिपरि बसेर धूप बाले ती आफ्ना लागे, आफ्नाले डुबाए दाइ, फेरि डुबाउँछन्, यसको चिन्ता हो,' उनले भने।
सभापति थापाले भदौ २२, २३, २४ सम्म पनि आफूहरू देउवासँग संवादमा रहेको बताएका थिए। साथै, असोज २८ गते देउवाले तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। त्यसपछि देउवामाथि गौरव छ भन्ने कुरा आफूहरूले राखेको उनको भनाइ थियो।
'तर फेरि तपाईंलाई लिन आए, फेरि बोलाउन आए साथीहरू। दाइ सबै कुरा भइसक्यो नेपालमा। आउनुपर्यो भनेर आए। कसैले तपाईंलाई संसद पुनर्स्थापना हुँदैछ भनेर बोलाए। कसैले होइन सबै ठिक हुँदैछ भनेर बोलाए, फेरि ढाँटे दाइ, अलमल्याए,' उनले भने।
विशेष महाधिवेशनमा दुई महामन्त्री र एक सहमहामन्त्रीमाथि कारबाही भएका बेला पनि देउवालाई भेटेको उनको भनाइ छ।
'त्यस दिन पनि एकाबिहानै पुगेको हो नि म र विश्वप्रकाश शर्मा। हामी केही कुरा भन्न चाहन्थ्यौं, तर त्यो दिन पनि सबै मिलिसक्यो दाइ, यी दुई केटालाई ठोके हुन्छ भनिदिए। भएन, फेरि ढाँटे,' सभापति थापाले भने, 'दाइ तपाईंलाई टिकट नदिए म चुनाव लड्दिनँ भनेर कोही पनि आएन। मेरो दाइलाई टिकट नदिए म लड्दिनँ भन्न कोही पनि आएन। धमाधम टिकट लिएर जानुभयो, लड्नुभयो र दाइ तपाईं नहुनाले भन्दैछन्, ढाँटे दाइ।'
सभापति थापाले यसो भनिरहँदा केन्द्रीय सदस्यहरू हाँसेका थिए।
उनले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले पार्टी एक गर्न भूमिका खेलिरहेको बताएका थिए।
'तर अहिले जसले नेमप्लेट टाँसिरहेका छन् नि, उनीहरूले कसैले पनि देउवाका लागि केही गर्नुपर्छ भनेर मलाई भनेनन्। हामीलाई मिलाए पुग्छ भने दाइ। अहिले तपाईं सभापति नभइकन हुँदैन भनेछन्, फेरि ढाँटे दाइ,' उनले भने, 'एक दुई कुरा तपाईंले बोलिदिनुभयो भने ढ्याक्कै सबै कुरा मिल्छ, अदालत पनि मिलाइसक्या छौं, एक दुई विषय एकचोटि होइन, तीनचोटि बोलेपछि मिल्छ भनेर तपाईंलाई भनिदिए। दाइ ढाँटे दाइ। त्यसैले तपाईंप्रति मेरो सम्मान छ, पूर्वसभापति हुनुहुन्छ।'
उनले असोज १६ को १५औं महाधिवेशन उद्घाटन सत्रमा निवर्तमान सभापतिको हैसियतले देउवालाई बोलाइने पनि बताए।
उनले संस्थापनइतर पक्षले साउन २९ देखि ३१ गतेसम्म गरेको भेलाको निर्णय पार्टीको अंग नहुने पनि बताएका छन्। भेलाका कुरा राम्रोसँग सुन्ने र आगामी महाधिवेशनमा छलफल गर्न ती प्रस्ताव ल्याउन पनि आग्रह गरेका थिए।
'पार्टीभित्र फरक फरक दृष्टिकोण छ, हुन्छ। त्यो महाधिवेशनमा छलफल गर्न सकिन्छ,' उनले भने, 'अबको महाधिवेशनमा अबको दशक, देश, लोकतन्त्र र कांग्रेस शीर्षकमा म राजनीतिक प्रस्ताव पेस गर्छु।'
उनले विशेष महाधिवेशनमा सहभागी भएकाहरूलाई 'फर्जी' भनेर आफ्नै क्षेत्रका नेताहरूलाई अपमान नगर्न पनि आग्रह गरेका छन्। तत्कालीन नेतृत्वले केन्द्रीय कार्यालयमा हस्ताक्षर रूजु गरिदिएको भए यस्तो भन्ने अवस्थासमेत नआउने उनको भनाइ छ।
'हस्ताक्षर रूजु गरिदिएको भए यो कुरा त्यहीँ सकिन्थ्यो, रूजु गर्न साथीहरूले नारा पनि लगाएका थिए तर गरिदिएनन्। कृपया तल्लो तहमा रहेका साथीहरूलाई जिस्क्याउने काम नगरिदिनुहोला, भोलि चुनाव लड्न त्यहीँ जानुपर्छ,' उनले भने।
उनले विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका आधारमा कसैमाथि विभेद नहुने बताए।
उनले भोलिदेखि १५औं महाधिवेशनको प्रक्रिया सुरू हुने भन्दै केही दिन नेताहरूसँग संवाद गर्ने पनि बताए। जिल्ला र क्षेत्रीय सभापतिले अधिवेशन गराउँदिनँ भने अर्को व्यक्तिलाई जिम्मेवारी दिने उनको भनाइ छ।