नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले मन्त्रीका लागि हेलिकप्टरबाट उद्धार गर्ने राज्यले नागरिकलाई भने सामान्य राहतसम्म पनि पुर्याउन नसकेको भन्ने टिप्पणी गरेकी छन्।
पूर्वाधार मन्त्री सुनिल लम्साल बिरामी भएपछि हालै हेलिकप्टरबाट उद्धार गरिएको थियो।
त्यसतर्फ लक्ष्य गर्दै उनले मन्त्रीका लागि ३०/३५ लाख खर्चेर हेलिकप्टर पठाउन सक्ने राज्यले कर्णालीका नागरिकका लागि ३ लाखको राहत र औपधि उपचार गर्ने अस्पतालसम्म पुर्याउन नसकेको बताइन्।
उनले यो कुरा आज प्रतिनिधि सभाको बैठकमा शून्य समयमा भनेकी हुन्।
‘जनताले राहत पाउँदैनन्, औषधि पाउँदैनन्, सुत्केरीले समयमा उपचार पाउँदैनन्, काठमाडौंमा हुर्केका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसक्दा लाखौं खर्चेर हेलिकप्टरमा ल्याइन्छ,’ उनले भनिन्, ‘मन्त्रीलाई ३०/३५ लाख खर्चने राज्यले नागरिकलाई ३ लाख खर्चेर राहत दिन सक्दैन। यो कस्तो सुशासन हो? सरकार कान खोलेर सुन्नुहोस्- मन्त्रीको जस्तै कर्णालीका जनताको जीवन पनि मूल्यवान छ। मन्त्रीका लागि हेलिकप्टर पुग्ने तर नागरिकका लागि अस्पताल नपुग्ने? यही सरकारको असली सुशासन जान्न चाहन्छ कर्णालीबासी।’