नेपाली कांग्रेसका सभापति गगन थापाले आजबाट १५ औं महाधिवेशन प्रक्रिया सुरू भएको बताएका छन्।
१५ औं केन्द्रीय महाधिवेशनअन्तर्गत विभिन्न जिल्लाहरूमा खटिने निर्वाचन अधिकृतहरूलाई प्रशिक्षणका लागि आज सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन हुने बताए।
‘हामीसँग अब समयको सुविधा छैन, हामी संविधान, पार्टी विधान, विशेष महाधिवेशनले गरेको र अदालतले गरेको पनि बाँधिएका छौं,’ उनले भने, ‘अदालतको फैसलामा पनि असोज १६ गतेबाट महाधिवेशन हुने भन्ने आधार बनाइएको छ। त्यसले पनि हामीहरू बाँधिएका छौं। थोरै समयमा काम गर्नुपर्नेछ।’
उनले यसपालि क्रियाशील सदस्यता अद्यावधिक गरिएको र डिजिटल भएकोले पहिलाको भन्दा सहज हुने पनि बताए। कांग्रेसमा करिब ८ लाख क्रियाशील सदस्य छन्।
‘प्रश्न नउठ्ने गरी अधिवेशन गर्नुपर्नेछ, आजबाट हाम्रो अधिवेशन प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भयो, निर्वाचन समितिले जुन कार्यतालिका बनाएको छ, त्यही कार्यतालिका हामी सबैले फलो गर्ने हो। केन्द्रीय कार्यसमितिले तिथि र ठाउँ तय गरिसकेको छ, असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन हुन्छ। असोज १६ अघि कुन कुन तहको अधिवेशन कसरी गर्ने भन्ने निर्वाचन समितिले कार्यतालिका बनाएर काम गर्छ।’
उनले कतिपय कुराहरूमा असन्तुष्टि जनाइरहेका नेताहरूसँग आफूले निरन्तर संवाद गरिराखेको बताएका थिए। संस्थापनइतर पक्षतर्फ लक्ष्य गर्दै सभापति थापाले निरन्तर संवाद भइरहेको बताएका हुन्।
‘कतिपय कुरामा चित्त बुझाइरहनुभएको छैन म उहाँहरूसँग संवादमा छु,’ उनले भने।
उनले सदस्यतासम्बन्धी झन्झट अब समाधान भएको पनि बताए। महामन्त्री प्रदीप पौडेल नेतृत्वको समितिले सदस्यता टुंगो लगाएको र निर्वाचन समितिलाई हस्तान्तरण गरिने उनले बताए।
महाधिवेशन निष्पक्ष र पारदर्शी बनाउनका लागि समितिहरूबारे खुला छलफल गर्न आफू तयार रहेको उनले बताए। ‘राजनीतिक कुरा छलफल भइरहन्छ, तर हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरू भयो,’ उनले भने।