सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ मन्त्रीलाई प्रश्न सोध्न नपाएको भन्दै मंगलबार प्रतिनिधिसभा बैठक छाडेर हिँडेकी छन्।
परराष्ट्रमन्त्री शिशिर खनाललाई प्रश्न सोध्न नपाएको र सभामुख डोलप्रसाद अर्यालले मर्यादामा बस्न निर्देशन दिएको झोकमा सांसद तामाङ बैठक कक्ष छाडेर हिँडेकी हुन्।
तामाङले ३७ दिनअघि संसदमै कम्बोडियामा बितेका सन्तोष राईको शव नेपाल ल्याउने विषय उठाएको तर सरकारले जबाफ नदिएको भन्दै सोमबारको बैठकबाट विरोध गरेकी थिइन्।
उक्त विषयमा सरकारले जबाफ नदिएसम्म आफूले विरोध गर्ने भन्दै तामाङ बैठक कक्षमा उभिएकी थिइन्।
त्यसलगत्तै सभामुख अर्यालले परराष्ट्र मन्त्रालयलाई तीन दिनभित्र जबाफ दिन रूलिङ गरेका थिए।
मंगलबार परराष्ट्रमन्त्री खनालसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम थियो। प्रश्नोत्तर सकिएपछि मन्त्री खनालले सभामुखको रूलिङ अनुसार आशिका तामाङको प्रश्नको जबाफ दिन खोजेका थिए। तर सभामुखले मन्त्री खनाललाई रोकेर कार्यसूची अनुसार प्रश्नोत्तरको समय सकिएको घोषणा गरे।
त्यसपछि मन्त्री खनाललाई आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जबाफ दिन समय दिए। त्यसै क्रममा खनालले विस्तृतमा सांसद तामाङले उठाएको विषयमा जबाफ दिएका थिए।
उनले धादिङ धुनिवेशी–९ का सन्तोष राईको उपचार सिलसिलामा कम्बोडियाको कालमेट अस्पतालमा १४ मे २०२६ मा मृत्यु भएको र हाल उनको शव नोमपेनस्थित 'खमेर सोभियत फ्रेन्डसिप' अस्पतालमा रहेको जानकारी दिए।
अस्पतालमा तिर्न बाँकी शुल्क, शवगृहको शुल्क र पार्थिव शरीर नेपाल ल्याउन हवाई भाडासहित करिब ८ हजार डलर खर्च लाग्ने जानकारी बैंककस्थित नेपाली दूतावासबाट आएको उनले बताए।
त्यसपछि मन्त्री खनालले परराष्ट्र मन्त्रालयले अवैधानिक ढंगबाट विदेश गएका नेपालीहरूको उद्धारका लागि पछिल्लो पटक अर्थ मन्त्रालयबाट १५ करोड बजेट पाएको जानकारी दिए। यसरी प्राप्त भएको रकम खर्च गर्न कार्यविधि बनाइएको र स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइएको उनले उल्लेख गरे।
साथै, खनालले एउटा नीतिगत प्रश्नको जबाफ खोज्नुपर्ने आवश्यकता आफूले देखेको भन्दै सांसदहरूलाई पनि त्यसमा घोत्लिन आग्रह गरे।
'वैधानिक बाटोबाट विदेश जानेहरूका हकमा वैदेशिक रोजगार विभागमार्फत इन्सुरेन्स हुने र राहत, उद्धार सहज ढंगले गर्न सक्छौं,' मन्त्री खनालले भने, 'तर अवैधानिक बाटो र प्रक्रियाबाट विदेश जानुभएका नेपालीहरूको उद्धार जटिल छ।'
उनले अल्छी भएर वा गर्न नचाहेर कार्यविधि निर्माणमा ढिलाइ नभएको दाबी गर्दै सांसद तामाङलाई अन्य मुलुकका व्यवस्था हेर्न सुझाव दिए।
'माननीयज्यूले लामो समय जुन देशको अनुभव गर्नुभयो, त्यहाँ आफ्नै खर्चमा विदेश गएका नागरिकलाई राज्यले करदाताको पैसा खर्च गरेर उद्धार गर्ने गरेको देखिँदैन,' मन्त्री खनालले भने, 'करदाताले तिरेको पैसाको प्रयोग कहाँ गर्ने र कहाँ नगर्ने भन्ने गम्भीरतापूर्वक सोच्नुपर्नेछ।'
सांसद आशिका तामाङले लामो समय युरोपेली मुलुक जर्मनीमा बिताएकी थिइन्। त्यसपछि मन्त्री खनालले करदाताको पैसाको प्रयोगबारे स्पष्टता आवश्यक रहेको बताए।
'मानवीय दृष्टिले हेर्दा हाम्रो सीमित स्रोतको प्रयोग हरेक दु:ख परेका नेपालीलाई गर्नुपर्ने देखियो,' मन्त्री खनालले भने, 'तर नागरिकले मिहेनत गरेर कमाएको पैसा सरकारले नगर भनेको काम गर्यो र गैरकाननुनी काममा प्रयोग गर्यो भने प्रयोग गर्ने कि नगर्ने? यो नीतिगत प्रश्न हो।'
मन्त्री खनालले मानवीय हिसाबले नागरिको उद्धारमा पैसा प्रयोग गर्नुपर्ने आवश्यकत रहेको बताए। साथै, वैध रूपमा कर तिरेको पैसा अवैध कार्यका लागि प्रयोग गर्दा त्यसले अवैध क्रियाकलापलाई प्रोत्साहन गर्न सक्नेबारे घोत्लिनुपर्ने बताए।
उनले यही प्रश्नका कारण कार्यविधि निर्माणमा केही समय ढिलाइ भएको बताए।
'हामी जनप्रतिनिधि हौं, करदाताले दिएको पैसाको सही ठाउँमा प्रयोग गर्नुपर्छ,' खनालले भने, 'हामीले कार्यविधि अर्थ मन्त्रालय पठाएका छौं। स्वीकृति प्राप्त हुनसाथ कार्यान्वयनमा आउँछ।'
मन्त्री खनालले सरकारसँग सीमित रकम भएकाले विदेशका सेल्टरमा भएका महिलाको उद्धार गर्ने कि शव व्यवस्थापन गर्ने कि कोमामा भएका नेपालीको उपचारमा प्रयोग गर्ने भन्ने जस्ता विषयको प्राथमिकीकरण आवश्यक रहेको बताए।
उनले पछिल्लो चार महिनामा १६० शव नेपाल ल्याएको र ८६० नेपालीलाई कम्बोडियाको स्क्याम सेन्टरबाट उद्धार गरेको जानकारी दिए।
मन्त्री खनालले यसरी जबाफ दिइरहँदा सांसद तामाङ बसिरहेको ठाउँबाट उठिन्।
खनालले थपे, 'अब उद्धार राहतमा अनलिमिटेड पैसा लाग्यो भने के गर्ने? त्यसैले १२ लाखसम्मको नेपाल सरकारको क्याप रहने गरी कार्यविधि बनाइएको छ। प्रक्रियामा छ।'
त्यसपछि मन्त्री खनालले अर्थ मन्त्रालयबाट कार्यविधि फिर्ता आएलगत्तै सन्तोष राईको शव ल्याउने काम अघि बढ्ने बताए।
'कार्यविधि आउने बित्तिकै सन्तोष राई लगायत थुप्रै व्यक्ति हुनुहुन्छ,' खनालले भने, 'शव नेपाल ल्याउनुपर्नेछ। त्यसमा अगाडि बढ्छौं।'
खनालले जबाफ दिएपछि सभामुख अर्यालले मन्त्रीलाई आसन ग्रहण गर्न आग्रह गरे।
केही समयदेखि उभिरहेकी सांसद तामाङलाई देखिरहेका सभामुख अर्यालले 'मन्त्रीले आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जबाफ दिएकाले स्पष्टीकरणको व्यवस्था नरहेको जानकारी' गराए।
त्यसपछि सांसद आशिका तामाङलाई बस्न आग्रह गरे। तर तामाङ बसिनन्।
सभामुख अर्यालले तामाङको माइक अन गरिदिएनन्।
उनले नियमावलीको व्यवस्था सम्झाउन खोजे। तर तामाङ अटेर गर्दै उभिइरहिन्।
'मैले बोल्न समय दिएको छैन। बसौं,' सभामुख अर्यालले तामाङलाई आग्रह गरे।
तामाङ सभामुखसँग सवाल जबाफ गर्दै आफ्नो स्थानमा बसिन्।
सभामुख अर्यालले भने, 'आशिका तामाङलाई सभाको मर्यादामा रहन निर्देशन दिन्छु।'
सभामुखले यस्तो निर्देशन दिएपछि सांसद तामाङ रिसाउँदै बैठक कक्ष छाडेर हिँडिन्।