नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म हुने १५ औं महाधिवेशनका लागि सभापति गगन थापाको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गरेको छ।
साउन २४ देखि भदौ १ गतेसम्म चलेको केन्द्रीय समिति बैठकको निर्णय आज सार्वजनिक गर्दै प्रवक्ता देवराज चालीसेले सभापति थापाकै संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गरिएको जानकारी दिए।
‘नेपाली कांग्रेसको १५ औं महाधिवेशन व्यवस्थापन समिति पार्टी सभापति गगनकुमार थापाको संयोजकत्वमा रहनेछ र यसमा आवश्यक सदस्यहरू रहनेछन्। महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न मूल समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्य लगायत विभिन्न उपसमितिहरु निर्माण गर्नेछ। यसमा रहने संयोजक एवं अन्य सदस्यहरूको नामावली पछि प्रकाशित गरिनेछ,’ बैठकले गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता चालीसेले भने।
पार्टीको महाधिवेशनमा मुख्य राजनीतिक प्रस्ताव सभापति थापाले पेस गर्नेछन्। जसमा ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’ विषयलाई विशेष महत्त्व दिने कांग्रेसले जनाएको छ।
‘राजनीतिक संस्कृतिमा क्षयको प्रवृति र युगानुकूल रूपान्तरणको अभिभारा’ विषयमा पार्टी उपसभापति विश्वप्रकाश शर्माले प्रस्ताव पेस गर्ने र प्रदेश निर्वाचन विशेष प्रस्ताव उपसभापति पुष्पा भुसालले पेस गर्नेछिन्।
यसैगरी संगठनसम्बन्धी प्रस्ताव महामन्त्री गुरूराज घिमिरेले पेस गर्नेछन्। पार्टीको १५ औं महाधिवेशन प्रचार प्रसार समिति प्रवक्ता देवराज चालीसेको संयोजकत्वमा गठन गरिएको हो।
केन्द्रीय कार्यसमितिको पूर्वनिर्णय अनुसार १५ औ महाअधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने निर्णय यथावत क़ायम गरिएको केन्द्रीय समितिको निर्णयमा उल्लेख छ।
महाधिवेशनलाई प्राविधिक निर्वाचन प्रकृयामा सीमित नराखी पार्टीको लोकतान्त्रिक नवीकरण, एकता, सहमति, संवाद र व्यापक सहभागिताको महाउत्सवका रूपमा सम्पन्न गर्ने वातावरण निर्माण गरिने पनि कांग्रेसले जनाएको छ।
‘भदौ महिनामा हुन सक्ने अत्याधिक वर्षाका कारण वड़ा, पालिकामा पर्न सक्ने प्रतिकूल प्रभावलाई ध्यानमा राखी निर्धारित समयमा केन्द्रीय महाअधिवेशन सम्पन्न हुने सुनिश्चितता क़ायम गर्दै केन्द्रीय निर्वाचन समितिले सम्बन्धित जिल्ला निर्वाचन समितिसँग समन्वय गरी तल्लो तहका निर्वाचन कार्यतालिकामा आवश्यक सामान्य हेरफेर गर्न सक्नेछ,’ निर्णयमा उल्लेख छ।
महाधिवेशन तयारीका लागि आवश्यक समितिहरू गठन गर्ने तथा तिनका संयोजक र सदस्यहरू नियुक्त गर्ने जिम्मेवारी सभापतिलाई दिने निर्णय गरिएको प्रवक्ता चालीसेले बताए।
सम्पूर्ण कृयाशील सदस्यताको डिजिटल अभिलेख व्यवस्थित गर्दै सदस्यता वितरण, नवीकरण, अद्यावधिक तथा अभिलेखिकरण गर्ने कार्यलाई सरल, विश्वसनीय र प्रभावकारी बनाउने कांग्रेसको भनाइ छ।
प्रकृया पूरा गरेका सदस्यलाई पार्टीको परिचयपत्र उपलव्ध गराउने तथा छुटेका सदस्यलाई निश्चित समय तोकी पुन: अद्यावधिकको अवसर प्रदान गर्ने निर्णय गरिएको निर्णयमा उल्लेख छ।
सदस्यता व्यवस्थापन सम्बन्धमा सदस्यता व्यवस्थापन समितिले गरेका निर्णयहरू अनुमोदन गरिएको र डिजिटल प्रणालीका प्राविधिक तथा व्यवस्थापकीय समस्या समाधान गरी कार्य अघि बढाउन उक्त समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने निर्णय गरिएको हो।