नेपाली कांग्रेसले लामो समयदेखि राजदूतहरू र महावाणिज्य दूतहरू नियुक्त नगरिएको भन्दै चासो राखेको छ।
साउन २४ देखि भदौ १ गतेसम्म चलेको केन्द्रीय समिति बैठकको निर्णय आज सार्वजनिक गर्दै कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा राजदूत र महावाणिज्य दूतहरू हटाइए पनि सरकारले नयाँ नियुक्त गर्न नसकेको उल्लेख गरेको हो।
‘कूटनीतिक सम्बन्ध रहेका देशहरूमा लामो समयदेखि राजदूत र महावाणिज्य दूतहरू राजनीतिक प्रतिशोधका आधारमा हटाइएका कारण खाली रहेका छन्,’ कांग्रेसले भनेको छ, ‘आर्थिक कूटनीति बढाउनु पर्ने यो समयमा कूटनीतिक सम्बन्धमा सरकारको चासो देखिएको छैन।’
यसैगरी 'अध्यादेश ल्याएर प्रतिशोधपूर्ण तवरमा हटाइएका एक हजार पाँच सयभन्दा बढी पदाधिकारीमध्ये अधिकाशमा नियुक्ति हुन नसकेको' पनि कांग्रेसको भनाइ छ।
भएका नियुक्ति पनि राजनीतिक भर्ती केन्द्र बनाइएको कांग्रेसको आरोप छ।
‘कथित पारदर्शिताका नाममा सार्वजिनक आह्वान गरी गरिएका नियुक्तिमा अपारदर्शिता मात्र छैन राजनीतिक भर्ती केन्द्र बनाइएको छ । यसप्रति बैठकले गम्भीर चासो व्यक्त गरेको छ,’ कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयमा उल्लेख छ।