नेपाली कांग्रेसले पूर्वनिर्धारित कार्यतालिका असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्न विधान व्यवस्था नै निलम्बन गरेको छ।
साउन २४ देखि भदौ १ गतेसम्म चलेको केन्द्रीय समिति बैठकले विधानको धारा ३५ (२) 'घ' निलम्बन गर्ने निर्णय गरेको हो।
उक्त धारामा यस्तो व्यवस्था थियो– 'नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशन हुने वर्षभन्दा कम्तिमा एक वर्षअगावै स्थानीय तहका सबै अधिवेशन र कार्यसमितिहरू गठन गरिने छन्। स्थानीय तहका अधिवेशनबाट प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनका लागि निर्वाचित हुने प्रतिनिधि प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन हुनुभन्दा तीन महिना पहिला निर्वाचित गरिनेछन्।'
विधानको यो व्यवस्था कायमै राखेर असोजमा तय महाधिवेशन गर्न सम्भव थिएन। त्यसैले कांग्रेसले विधानको व्यवस्था निलम्बन गरेर यसअघि केन्द्रीय कार्यसमितिले ल्याएको कार्यतालिका यथावत् राखेर १५औं महाधिवेशन गर्ने निष्कर्ष निकालेको नेताहरूले बताएका छन्।
कांग्रेसले गरेको निर्णयमा 'विशेष परिस्थितिमा १५औं महाधिवेशन निर्धारित समयभित्र सम्पन्न गर्न आवश्यक देखिएकाले विधानको धारा ३५ (२) (घ) सम्बन्धमा विधानबमोजिम आवश्यक निलम्बन गर्ने निर्णय गरिएको छ' भन्ने उल्लेख रहेको प्रवक्ता देवराज चालिसेले बताए।
गत पुसमा कांग्रेसले विशेष महाधिवेशन गरेको थियो भने गगन थापा नेतृत्वमा कार्यसमिति बनेको थियो। अहिले यो कार्यसमिति १५३ सदस्यीय छ।
विशेष महाधिवेशनमा सहभागी नरहेका तत्कालीन सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका गरी १९ जनालाई थापाले केन्द्रीय सदस्य मनोनीत पनि गरेका थिए।
विशेष महाधिवेशन भएको एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने हुन्छ। त्यसैले कांग्रेसले पुसभित्र १५औं महाधिवेशन गर्नुपर्ने हुन्थ्यो। तर अदालतको आदेशमा उल्लेख भए अनुसार पनि असोजभित्रै १५औं महाधिवेशन गर्नुपर्ने समय चापमा आफूहरू रहेको सभापति थापाको भनाइ छ।
सभापति थापाले आजबाट १५औं महाधिवेशन प्रक्रिया सुरू भएको बताए। १५औं महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा खटिने निर्वाचन अधिकृतलाई प्रशिक्षण दिन मंगलबार सानेपामा आयोजित कार्यक्रममा बोल्दै थापाले पूर्वनिर्धारित कार्यतालिका अनुसार नै असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन हुने बताएका हुन्।
उनले असोजमै महाधिवेशन गर्नुपर्ने कारणबारे थप भने, 'हामीसँग अब समयको सुविधा छैन। हामी संविधान, पार्टी विधान, विशेष महाधिवेशनले गरेको र अदालतले गरेको पनि बाँधिएका छौं। अदालतको फैसलामा पनि असोज १६ गतेबाट महाधिवेशन हुने भन्ने आधार बनाइएको छ। त्यसले पनि हामी बाँधिएका छौं। थोरै समयमा काम गर्नुपर्नेछ।'
उनले कतिपय कुरामा असन्तुष्टि जनाइरहेका नेताहरूसँग आफूले निरन्तर संवाद गरिराखेको बताएका थिए। संस्थापनइतर पक्षतर्फ लक्ष्य गर्दै सभापति थापाले उनीहरूसँग निरन्तर संवाद भइरहेको बताएका हुन्।
'कतिपय कुरामा चित्त बुझाइरहनुभएको छैन,' उनले भने, 'म उहाँहरूसँग संवादमा छु।'
उनले सदस्यतासम्बन्धी झन्झट अब समाधान भएको पनि बताए। महामन्त्री प्रदीप पौडेल नेतृत्वको समितिले सदस्यता टुंगो लगाएको र निर्वाचन समितिलाई हस्तान्तरण गरिने उनले बताएका थिए।
महाधिवेशन निष्पक्ष र पारदर्शी बनाउन समितिहरूबारे खुला छलफल गर्न आफू तयार रहेको उल्लेख गर्दै उनले भने, 'राजनीतिक कुरा छलफल भइरहन्छ, तर हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरू भयो।'
उनले प्रश्न नउठ्ने गरी अधिवेशन गरिने पनि बताए।
'आजबाट हाम्रो अधिवेशन प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भयो, निर्वाचन समितिले जुन कार्यतालिका बनाएको छ, त्यही कार्यतालिका हामी सबैले फलो गर्ने हो। केन्द्रीय कार्यसमितिले तिथि र ठाउँ तय गरिसकेको छ। असोज १६ अघि कुन कुन तहको अधिवेशन कसरी गर्ने भन्ने निर्वाचन समितिले कार्यतालिका बनाएर काम गर्छ,' सभापति थापाले भने।
कार्यतालिका अनुसार अधिवेशन नगर्ने जिल्ला र क्षेत्रीय सभापतिको जिम्मेवारी 'खोसिने' पनि सभापति थापाले बताए।
उनले साउन २९ देखि ३१ गतेसम्म संस्थापनइतर पक्षले राखेको भेलामा ८ जना जिल्ला सभापति र केही क्षेत्रीय सभापति पनि सहभागी रहेको पाइएको भन्दै यस्ता भेलामा सहभागी रहने विगतकै अभ्यास रहेको र कतिपय अवस्थामा आफूले पनि यस्ता भेला गरेको उल्लेख गरेका थिए।
तर तोकिएको समयमा जिल्ला वा क्षेत्रीय अधिवेशन गराउँदिनँ भनेर कसैले भने उक्त नेताको जिम्मेवारी 'खोसिने' सभापति थापाको भनाइ थियो।
क्रियाशील सदस्यता अद्यावधिकका बेला पनि असहयोग गर्ने कतिपय वडाध्यक्ष र क्षेत्रीय सभापतिहरूको जिम्मेवारी कार्यसमितिकै अर्को व्यक्तिलाई तोकेर क्रियाशील अद्यावधिक गराइएको थियो। कांग्रेसमा अहिले करिब ८ लाख क्रियाशील सदस्य छन्।