जनता समाजवादी पार्टी नेपाल, लुम्बिनी प्रदेश सभा संसदीय दलले प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई स्पष्टीकरण सोधेको छ।
संसदीय दलको निर्णय र ह्वीपविपरीत मुख्यमन्त्री चेतनारायण आचार्यले मागेको विश्वासको मतको पक्षमा मतदान नगरेको भन्दै दलले काफ्लेलाई तीन दिनभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको हो।
संसदीय दलका नेता सन्तोषकुमार पाण्डेले काफ्लेलाई स्पष्टीकरण सोधेका हुन्।
पत्रमा भदौ १ गते प्रदेश सभामा भएको मुख्यमन्त्री आचार्यको विश्वासको मत सम्बन्धी प्रस्तावमा जसपा नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दलले पक्षमा मतदान गर्ने निर्णय गरेको र सोहीअनुसार ह्वीप जारी गरेको उल्लेख छ।
दलको निर्णय र निर्देशन विपरीत कार्य गरेको भन्दै संसदीय दलले काफ्लेसँग तीन वटा प्रश्नको जबाफ मागेको छ।
काफ्ले जसपा नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दलको सदस्य भए नभएको, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दलले जारी गरेको निर्देशन पालना नगर्नुको कारण र दलको निर्देशन पालना गर्नु आफ्नो दायित्व भए नभएकोबारे स्पष्टीकरण मागिएको छ।
मुख्यमन्त्री आचार्यले भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिँदा उनको पक्षमा ४५ र विपक्षमा २६ मत परेको थियो। जसपा नेपालले सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो।