अमेरिकाले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासको अवधि घटाएको छ।
यसपालि वार्षिक संयुक्त सैन्य अभ्यास कार्यक्रम ११ दिनको हुने तय भए पनि अमेरिकाले त्यसलाई ५ दिनमा सीमित गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
संयुक्त सैन्य अभ्यासको समय मात्रै होइन यसमा हुने महत्त्वपूर्ण स्थलगत तालिम पनि कटौती गरिने भएको छ।
केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासको अवधि घटाउन आफूले रक्षा मन्त्रालयलाई निर्देशन दिएको कुरा ट्रुथ सोसलमा पोस्ट गरेर जानकारी दिएका थिए।
ट्रम्पको निर्देशनसँगै अगस्ट १७ देखि सुरू भएको 'उल्ची फ्रिडम सिल्ड' नाम दिइएको संयुक्त सैन्य अभ्यास अब अगस्ट २१ सम्म मात्रै चल्ने भएको छ। उक्त सैन्य अभ्यास अगस्ट २७ सम्म हुने तय थियो।
दक्षिण कोरियाका रक्षामन्त्री आन ग्यु-बेकले संयुक्त सैन्य अभ्यासको दोस्रो चरण पनि रद्द हुने दिशामा रहेको भनेर रोयटर्ससँग बताएका छन्।
संयुक्त सैन्य अभ्यासको पहिलो चरणमा प्रतिरक्षात्मक तालिम र दोस्रो चरणमा आक्रमणसम्बन्धी सैन्य कारबाहीको अभ्यास हुने भनिएको थियो।
दक्षिण कोरियाली संयुक्त सेना प्रमुखको कार्यालय (जेसीएस)का अनुसार अमेरिकाकै सुझावमा दुवै देशले अभ्यासको अवधि र दायरामा आंशिक परिवर्तन गर्ने सहमति गरेका हुन्।
संयुक्त स्थलगत सैन्य अभ्यास पनि केही घटाइने तर त्यसको विस्तृत खाका अझै छलफलमै रहेको छ।
अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले अभ्यास र त्यससँग सम्बन्धित प्रत्यक्ष सैन्य तालिम कार्यक्रमलाई उल्लेख्य रूपमा घटाइएको बताए।
केही तालिम रद्द गरिएका छन् भने केहीलाई प्रत्यक्ष अभ्यासको सट्टा सिमुलेसनमा रूपान्तरण गरिएको छ।
तर यी परिवर्तनले दुवै देशको सैन्य तयारी र तालिमको मुख्य उद्देश्यमा असर नपर्ने अमेरिकी अधिकारीले बताए। उनका अनुसार अमेरिकी सेनाको तालिमसम्बन्धी मुख्य उद्देश्यमा कुनै कमी आउने छैन।
ट्रम्पले विभिन्न कारण देखाएर दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासको अवधि घटाउन निर्देशन दिएका थिए। उनले अभ्यास रद्द गर्नका लागि ढिला भइसकेका कारण तत्कालका लागि समय घटाइएको बताएका थिए।
पहिलो कारणमा इरान युद्धमा दक्षिण कोरियाले अमेरिकालाई सहयोग नगरेको गुनासो छ।
इरानसँगकै युद्ध उत्कर्षमा रहँदा ट्रम्पले हर्मुज खुलाउन र इरानलाई कहिल्यै आणविक हतियार बनाउन नदिने सुनिश्चित गर्नका लागि उनले युरोपलगायत अरू निकट देशहरूसँग सहायता खोजेका थिए।
त्यतिबेला हर्मुज जलमार्ग खुलाउने विषयमा दक्षिण कोरियाले ठाडै अस्वीकार गरेकाले उनीहरूसँगकै संयुक्त सैन्य अभ्यास पनि घटाउने निर्णयमा पुगेको ट्रम्पले केही दिनअघि ट्रुथ सोसलमा लेखेका थिए।
ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेतना किम जोङ उनसँग आफ्नो सम्बन्ध राम्रो भएको र दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास गर्दा उत्तर कोरियालाई राम्रो सन्देश नजाने भएकाले पनि संयुक्त सैन्य अभ्यासको दायरा घटाइएको बताएका थिए।
उनले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास गर्ने सहमति आफूलाई पहिल्यै देखि मन नपरेको पनि बताएका थिए।
'यस्ता अभ्यासले उत्तर कोरियालाई एकदमै अनुपयुक्त र शत्रुतापूर्ण सन्देश दिन्छ। डोनाल्ड ट्रम्प राष्ट्रपति भएयता उत्तर कोरियाले अमेरिकाप्रति कुनै धम्की दिएको छैन र सम्मानजनक व्यवहार गर्दै आएको छ,' ट्रम्पले भनेका छन्।
तेस्रो कारण, खर्चको विषयमा छ।
ट्रम्पले संयुक्त सैन्य अभ्यासमा धेरै खर्च हुने र खर्चको धेरै हिस्सा अमेरिकाले नै ब्यहोर्नुपर्ने भएकाले पनि अभ्यास उल्लेख्य रूपमा घटाउन निर्देशन दिएको बताएका छन्।
'त्यसैले, र अभ्यास रद्द गर्न ढिला भइसकेको तथ्यलाई ध्यानमा राख्दै, मैले रक्षामन्त्री पिट हेगसेथलाई संयुक्त सैन्य अभ्यासहरू उल्लेख्य रूपमा घटाउन निर्देशन दिएको छु,' ट्रम्पले लेखेका थिए।
कोरिया इकोनोमिक इन्स्टिच्युट अफ अमेरिकाकी वरिष्ठ फेलो एलेन किमले ट्रम्पको निर्णयपछाडि धेरै कारण हुन सक्ने बताएकी छन्।
दक्षिण कोरियाले व्यापार सम्झौताअन्तर्गत अमेरिकामा गर्ने प्रतिबद्ध लगानीको गति बढाउन दबाब दिने, इरानमा अमेरिकासामु देखिएका चुनौतीबाट ध्यान मोड्ने र उत्तर कोरियासँग पुनः कुटनीतिक संवाद सुरु गर्नका लागि ट्रम्पले त्यसो गरेको हुनसक्ने उनको भनाइ छ।
‘ट्रम्प यहाँ एउटै ढुंगाले तीनवटा चरा मार्न खोजिरहेका छन्,’ किमले भनिन्।
उत्तर कोरियाले भने बुधबार पनि अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोध गरेको छ। उसले संयुक्त सैन्य अभ्यास आफूविरुद्ध देखिएका सैन्य खतरा रहेकाले त्यसको सामना गर्न आफ्नो आत्मरक्षाको अधिकार प्रयोग गरिरहने पनि भनेको छ।
उत्तर कोरियाले जारी गरेको टिप्पणीमा अमेरिका र दक्षिण कोरियालाई कोरियाली प्रायद्वीपमा तनाव बढाउने ‘युद्धपिपासु’ भन्दै आलोचना गरिएको छ। तर उसले ट्रम्पको आदेश, अभ्यास कटौती गर्ने निर्णय वा अमेरिकी सहभागिता घटाइएको विषय भने उल्लेख गरेको छैन।
अमेरिकी अखबार वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पले यसै शरद ऋतुमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग प्रत्यक्ष भेटवार्ताको प्रबन्ध गर्न आफ्ना अधिकारीहरूलाई निर्देशन दिएका छन्।
यसअनुसार ट्रम्प र किमबीच नोभेम्बरमा चीनको सेन्जेनमा हुने एसिया-प्रशान्त आर्थिक सम्मेलन (एपेक) शिखर सम्मेलनमा हुन सक्ने आकलन छ।