युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत महिना हटाएका लोकप्रिय रक्षामन्त्रीले युक्रेनमा नयाँ निर्वाचन गराउन आह्वान गरेका छन्।
पूर्व रक्षामन्त्री मिखाइलो फेडोरोभले रूसको जारी आक्रमणका बाबजुद निर्वाचन हुनु पर्ने माग गरेका हुन्।
रूसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँ चुनाव भएको छैन।
सन् २०१९ मा राष्ट्रपति निर्वाचित भएका जेलेन्स्कीको कार्यकाल सकिए पनि जारी युद्धका कारण नयाँ निर्वाचन भएको छैन। यस्तो बेला फेडोरोभले निर्वाचन हुनु पर्ने माग गरेका छन्।
'कुनै निश्चित निर्णयहरू किन लिइन्छ भन्ने कुरा नबुझी जनता निरन्तर यस्तो अवस्थामा बसिरहन सक्दैनन्,' फेदोरोभले मंगलबार राति एक भिडियो सन्देश जारी गर्दै भने, 'हामीले पुटिनलाई युक्रेनीहरूले कहिले आफ्नो सरकार छनोट गर्न पाउँछन् भन्ने निर्णय गर्न दिन हुँदैन।'
जुलाई महिनामा फेदोरोभलाई रक्षामन्त्रीको पदबाट बर्खास्त गरेपछि जेलेन्स्कीविरुद्ध देशभर विरोध प्रदर्शन सुरु भएको थियो।
युद्धभूमिमा नयाँ प्रविधिको विकास गर्न प्रेरित गरेको श्रेय पाएका लोकप्रिय मन्त्री फेदोरोभको पछिल्लो टिप्पणीले जेलेन्स्कीमाथि देशभित्रै थप दबाब पारेको छ।
उनलाई हतियार खरिद र ड्रोन उत्पादन तीव्र पारेको तथा निकै अपारदर्शी मन्त्रालयको कर्मचारीतन्त्रमा सुधार ल्याएको श्रेय दिइन्छ।
पछिल्ला महिनाहरूमा उनको मन्त्रालयले ठूलो संख्यामा उत्पादित ड्रोनहरूको प्रयोग गरेर आफूभन्दा ठूलो र बढी साधन स्रोत भएको रूसलाई अप्ठ्यारो पारेको मानिन्छ।
३५ वर्षीय फेडोरोभ गत जनवरीमा मात्र नियुक्त भएका थिए। तर जेलेन्स्कीले फेडोरोभ र युक्रेनका शीर्ष जनरल ओलेक्सन्डर सिर्सकीबीच मतभेद बढेकाले मिलेर काम गर्न नसकेको भन्दै उनलाई हटाएका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)