अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँग तुरून्तै भेट मिलाउन आफ्ना सहयोगीहरूलाई दबाब दिन थालेका छन्।
ट्रम्पले भर्खरै दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासको अवधि ११ दिनबाट घटाएर पाँच दिनमा सीमित गर्न निर्देशन दिएका थिए।
यस्तो बेलामा उनले किमसँग भेट मिलाउन दबाब दिएको भनेर अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले लेखेको छ।
उत्तर कोरियाको आणविक हतियार कार्यक्रम त्याग्न मनाउन उनले किमसँग भेट्न खोजेका हुन्।
पहिलो कार्यकालमा ट्रम्पले तीन पटक भेटवार्ता गरे पनि किमलाई आणविक हतियार कार्यक्रम त्याग्न मनाउन सकेका थिएनन्।
ट्रम्पसँगको तेस्रो वार्ता पनि असफल भएपछि उत्तर कोरियाले द्रुत गतिमा आणविक हतियार बनाएको थियो।
दोस्रो कार्यकालमा पनि ट्रम्पले किमसँग वार्तालाई निरन्तरता दिन खोजेका छन्।
त्यसैले किमलाई खुशी पार्न उनले दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासको अवधि घटाउन निर्देशन दिएको मानिन्छ।
इरानसँगको युद्धमा आशातित सफलता हासिल गर्न नसकेपछि त्यो असफलताबाट ध्यान मोड्न पनि उनले किमसँग भेट्न खोजेका हुन सक्छन्।
चीनको शेन्जेनमा नोभेम्बर महिनामा हुने एसिया-प्रशान्त आर्थिक सहकार्य (एपेक) सम्मेलनका लागि ट्रम्प एसिया भ्रमणमा गएको बेला किमसँग प्रत्यक्ष भेटघाट मिलाउन अमेरिकी अधिकारीहरूले निजी रूपमा छलफल चलाएको जर्नलले जनाएको छ।
ट्रम्पले गत अक्टोबरको एसिया भ्रमणका क्रममा पनि किमसँग भेट्ने प्रयास गरेका थिए। त्यसका लागि उत्तर कोरिया पनि सकारात्मक भएको मानिन्छ।
तर छोटो समयमा किमसँग भेट मिलाउन संभव भएको थिएन।
अर्को तर्फ चीनसँगको चर्किएको व्यापार युद्ध मत्थर पार्न उनले चीनका राष्ट्रपति सी चिनफिङसँग भेट्ने पनि कार्यक्रम थियो। सो भ्रमणमा किमसँग भेटे सीसँगको भेट ओझेलमा पर्ने ठानेर पनि ट्रम्पले किमसँग त्यतिबेला नभेटको मानिन्छ।
किमसँग भेट्नु सीको अपमान हुने सक्थ्यो भनेर उनले त्यतिबेला प्रतिक्रिया पनि दिएका थिए। अहिले भने उनले किमसँग चाँडै भेट मिलाउन आफ्ना सहयोगीहरूलाई निर्देशन दिएका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)