नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकार चिठ्ठामा रमाइरहेको टिप्पणी गरेपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नियमापत्ति जनाएकी छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा एमाले सांसद सिद्धिकीले सरकार चिठ्ठामा रमाइरहेको टिप्पणी गरेकी थिइन्।
उनले सरकारले सुरूआती सय दिनमा सम्पन्न गर्ने भनी ल्याएको एक सय बुँदे कार्ययोजनाको गम्भीर समीक्षा गर्नुपर्ने समेत बताइन्।
उनले सार्वजनिक हितमा रहेर कार्यसम्पादन गर्नु सरकारको पहिलो कर्तव्य र दायित्व भएको टिप्पणी समेत गरिन्।
सांसद खातुनले भनिन्, ‘राजनीति भनेको केबल शक्ति र सत्ता प्राप्त गर्नु मात्र होइन, चुनावमा होमिएर केवल जितहार प्राप्त गर्नुमात्र पनि होइन। चुनावको माध्यमबाट सरकार चलाउनु पनि हो। होइन र सरकार? नागरिकको असल र सुखी जीवन सुनिश्चित गर्नु हो। सार्वजनिक हितमा रहेर कार्य गर्नु यो सरकारको पहिलो दायित्व र पहिलो कर्तव्य पनि हो। सरकारले ल्याएको सय दिनमा गर्ने भनेर ल्याएको एक सय बुँदाको समीक्षा गर्नुहोस्। कति पास भयो? कति फेल भयो? जिम्मेवारी सरकारको हो। चिठ्ठामा रमाउने सरकार अब त आँखा खोल। जनातको पीडा बुझ्ने चमेली बन।’
लगत्तै सांसद रास्वपा सांसद तामाङले नियमापत्ति जनाएकी थिइन्।
उनले आफूहरू चिठ्ठामा परेको नभई जनताबाट मनोनीत भएर आएको टिप्पणी गरिन्।
उनले सदनमा चिठ्ठामा परेको र चाउचाउमा परेको भन्दै टिप्पणी गर्ने गरेको भन्दै प्रतिपक्षी सांसदहरूप्रति आक्रोश समेत व्यक्त गरिन्।
सांसद तामाङले सांसद सिद्धिकीको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनुपर्ने माग समेत गरिन्। –न्युज एजेन्सी नेपाल