प्रधानमन्त्री बालेन शाहले 'एक्लै लड्नुपर्छ' भन्दै केही समयअघि लेखेको स्ट्याटसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिक्रिया दिएका छन्।
सिंहदरबारमा बुधबार मन्त्री र सांसदहरूसँग छलफल राखेका लामिछानेले बाहिर निस्किँदा पत्रकारले प्रधानमन्त्रीको स्ट्याटस सम्झाएपछि यस्तो प्रतिक्रिया दिएका हुन्।
'उहाँ त एउटा कवि पनि हो, कलाकार पनि हो नि! अहिले यहाँ यत्रो भीडमा पनि मैले एक्लो फिल गर्न सक्दिनँ र? त्यसैले हामीले खोजे जस्तो हरेक शब्दको अर्थ खोज्न गयो भने त्यसको राजनीतिक अर्थ भन्ने नै हुँदैन। यत्रो सिंगो पार्टी सँगै उभिएको छ, कहाँ उहाँ एक्लो हुनु? तपाईंले अर्को अर्थ नलगाउनुहोस् न,' लामिछानेले भने।
पत्रकारले मन्त्री फेरिन लागेको हो र? भनेर पनि सोधेका थिए।
'मन्त्रीहरूले सयवटा काम गर्नुभएको छ, चार-पाँचवटामा प्रश्न आउनु स्वाभाविकै हो। रास्वपाभित्र आफ्नै भए पनि प्रश्न सुन्ने पार्टी हो। त्यसैले छलफल राखेका हौं। तर अहिले नै मन्त्री फेर्ने कुरा छैन। तयारी छैन। पार्टीमा झगडा पनि छैन,' उनले भने।
दलका वरिष्ठ नेता तथा प्रधानमन्त्री किन नआएको भन्ने प्रश्नमा उनले भने, 'आजको बैठक सांसदहरू र सभापतिबीचको छलफल हो। दलको बैठकमा दलका नेता आइहाल्नुहुन्छ, त्यसमा दुबिधा छैन।'
उनले ठूलो पार्टीमा धेरै सांसद भएकाले कहिलेकाहीँ बोली चिप्लिने र विवाद हुनु सामान्य भए पनि संसदीय मर्यादा आफूहरूकै जिम्मेवारी भएको बताए।
'धेरै सांसद भएको राजनीतिक दलभित्र कहिले कसको, कहिले कसको बोली चिप्लिन सक्छ। कहिलेकाहीँ काम गर्दागर्दै यताउता हुन सक्ने पनि होला। जसरी यति धेरै पत्रकार साथीहरू हुनुहुन्छ, सबैको समाचार सही नहुन पनि सक्छ। कहिले हेडलाइन बिग्रिन्छ, कहिले के। त्यस्तै हामी पनि धेरै छौं। धेरैमध्ये एक-दुई जनाले बोलेको विवादमा पनि पर्छ तर त्यसलाई हामी सम्हालिहाल्छौं,' उनले भने।
संसदमा सांसदहरूले बोल्नुपर्ने विषय, त्यहाँको प्रस्तुतिबारे आमनागरिक तहबाट पनि प्रश्न आइरहेकाले पार्टी पंक्तिमा छलफल गरिएको उनले बताए।
'आमनागरिक तहबाट पनि प्रश्नहरू आइरहेको, पार्टी पंक्तिबाट पनि यसबारे छलफल गर्नुपर्छ कि भनेर सुझाव आइरहेकाले हामी सबै एउटै पेजमा त हुनुपर्यो नि। त्यसैले सरकार, मन्त्रालय, मन्त्री, कसैका बारेमा असन्तुष्टिहरू पो छन् कि भनेर हामीले आन्तरिक छलफलहरू गर्यौं,' उनले भने, 'संसदको मर्यादा राख्ने पनि हाम्रो नै जिम्मेवारी रहन्छ। संसदमा मर्यादित तरिकाले उपस्थित हुने। त्यहाँ उठाउने विषयवस्तु आमनागरिकसँग जोडिएका हुनेबारे एकै पटक सबै बसेर एउटा बुझाइ बनाउन हो। आउँदा दिनमा संसदलाई मर्यादित बनाउने प्रयास हो।'
पार्टीको केन्द्रीय समिति र पदाधिकारी कहिले परिपूर्ति गर्नुहुन्छ भनेर सोधेको प्रश्नमा उनले भने, 'केन्द्रीय समितिलाई परिपूर्ण गर्ने भनेको पाँच वर्षभित्र गर्ने काम हो। यताउताको नाम भन्ने केही पनि छैन। रास्वपा एक हो। हामीले महाधिवेशन पछाडि समायोजनलाई समाप्त गरिसकेकाले अब विधानले सभापतिलाई मनोनयनको अधिकार अनुसार योग्य साथीहरूलाई क्रमश: ल्याउँदै जाने सिलसिलामा हामी छौं, भोलि ४ जना गरौंला, पर्सि ५ जना, त्यसपछि १० जना गरौंला। कसैले नाम दिने नै होइन, पार्टीभित्रका साथीहरूले काम गर्ने हो। यो एउटा पक्ष र अर्को पक्षले दिने भन्ने कुरा बिल्कुल खारेज गर्नुहोला।'