प्रधानमन्त्री बालेन शाहले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि आफ्ना मन्त्रीहरूसँग कार्य-सम्पादन सम्झौता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुधबार कार्य-सम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरिएको हो।
मन्त्रीहरूसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य-सम्पादन सम्झौता गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार प्रधानमन्त्री शाहले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरूङ, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग कार्य-सम्पादन सम्झौता गरेका छन्।
साथै, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले पनि प्रधानमन्त्रीसँग कार्य-सम्पादन सम्झौता गरेका छन्।
कार्य-सम्पादन सम्झौता गर्दा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल आफ्नो अस्वस्थता तथा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव संसदमा सहभागी हुनुपरेकाले उपस्थित हुन नसकेको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्य-सम्पादन सम्झौता गरेका छन्।













