सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाहसहित छिट्टै दलको बैठक बस्ने बताएका छन्।
बुधबार सिंहदरबारमा मन्त्री र सांसदहरूसँग छलफल गर्ने क्रममा सभापति लामिछानेले उक्त जानकारी दिएका हुन्।
उनले बैठकपछि पत्रकारहरूले सोधेको प्रश्नमा पनि 'आजको बैठक सांसदहरू र सभापतिबीचको छलफल भएको' र 'दलको बैठकमा दलका नेता आइहाल्नुहुन्छ, त्यसमा दुबिधा छैन' भन्ने जबाफ दिएका थिए।
बैठकमा सहभागी एक नेताका अनुसार सभापति लामिछानेले आफ्ना मन्त्री र संघीय सांसदहरूलाई विभिन्न विषयमा सुझाव र निर्देशन पनि दिएका छन्।
त्यस क्रममा उनले आगामी दिनमा सरकारको कार्यशैली परिवर्तन हुने दाबी गर्दै मन्त्रीहरू भने नफेरिने बताएका थिए।
पछिल्लो समय केही मन्त्रीहरू फेरिने हल्ला चल्दै आएको छ। खासगरी प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच केही साताअघि भएको भेटपछि मन्त्रीहरू फेरिने हल्ला सुरू भएको हो। आजको बैठकमा सभापति लामिछानेले उक्त कुरा अस्वीकार गरेको बैठकमा सहभागी एक नेताले बताए।
सभापति लामिछानले मन्त्री र सांसदहरूलाई आफ्नो कार्यशैलीमा गम्भीर हुन निर्देशन दिएको पनि ती नेताले जानकारी दिए।
'राजनीति ५ वर्ष मात्रै गर्ने हो भने फूलमाला लगाएर विदा गर्दिन्छु। लगानीबिना बाटोमा पद भेटेजस्तो लाग्छ भने केही भन्न सकिन्न,' लामिछानेलाई उद्धृत गर्दै उनले भने।
मन्त्रीहरूको काम-कारबाहीलाई लिएर कसैलाई केही प्रश्न छ भने सम्बन्धित मन्त्रीलाई सिधै प्रश्न लेख र आफूलाई पनि बोधार्थ दिन लामिछानेले निर्देशन दिएका छन्।
'तपाईंहरू मलाई बोधार्थ दिएर सिधै मन्त्रीहरूलाई प्रश्न लेख्नुस्, म पनि अध्ययन गर्छु,' उनले भने।
छलफल क्रममा लामिछानेले 'विगतमा रास्वपालाई घृणा गर्नेहरू आज रवि लामिछानेले भन्दा ठूलो घन्टी बोक्न थालेको' बताएका थिए।
'सरकार जति शक्तिशाली छ, त्यसैगरी प्रतिपक्षीहरू पनि इतिहासमै एक भएका छन्,' लामिछानेको भनाइ उद्धृत गर्दै एक नेताले भने, 'यस्तो अवस्थामा सांसद, दल र सरकारबीचको समन्वय अझ प्रगाढ बनाऔं।'
उनले सांसदहरूसँग जनताका थुप्रै प्रश्न रहेको र मन्त्रीहरूसँग पनि सांसदहरूका थुप्रै प्रश्न रहेकाले सबैले आ-आफ्ना तहबाट ती प्रश्नलाई सम्बोधन गर्न भनेका छन्।
उनले नियुक्ति लगायतका काममा योग्यता र समावेशितालाई सँगसँगै अघि बढाउन सरकारलाई सुझाव दिएका छन्।
त्यस्तै, केही दिनअघि कोरम नपुगेर संसद बैठक रोकिएको विषयमा लामिछानेले भने, 'सदनमा हामी नियमित हुनैपर्छ। संसद नियमावली आफै बनाउने, पास गर्ने अनि पालना नगर्ने भन्ने हुन्न।'
'राजनीतिक दल बन्न निश्चित समय लाग्छ। हामी भएकै स्ट्रक्चरमा टिकौं,' उनले भने।
उनले अमर्यादित गतिविधि गरेर 'रमिता' नदेखाउन पनि सांसद र मन्त्रीहरूलाई निर्देशन दिएका छन्।
'सांसद र मन्त्री दुवैले आफ्नो व्यवहार र गतिविधिमा संसदीय मर्यादा कायम गर्नुपर्छ,' उनले भने, 'हामीले आफ्ना गतिविधि पारदर्शी बनाउनुपर्छ। संसदमा बोल्ने विषय, भ्रमण, भेटघाट लगायत गतिविधिबारे पार्टीलाई जानकारी गराउनुपर्छ।'
रास्वपा सांसद र मन्त्रीहरूले घमण्ड त्यागेर आपसी समन्वय र संवादमा काम गर्नुपर्नेमा जोड दिएको बैठकमा सहभागी अर्का नेताले बताए।
सांसद र मन्त्रीबीच सहकार्य र समन्वय भए मात्र सरकार प्रभावकारी हुने उनको भनाइ थियो। यसका लागि एकअर्कासँग स्पष्ट रूपमा संवाद गर्नुपर्नेमा उनले जोड दिए।
'संसदीय भूमिकामा मर्यादित र जिम्मेवार बन्नुस्। संसदमा कसरी प्रस्तुत हुने र आफ्नो भूमिका अनुसार कसरी व्यवहार गर्ने भन्नेमा ध्यान दिनुस्,' उनले भने।
जनताले परिणाम खोजेका छन् भन्दै सभापति लामिछानले आफ्ना मन्त्री र सांसदहरूलाई 'प्रचारभन्दा परिणाममुखी काममा ध्यान दिन' जोड दिएका छन्।
'तपाईंहरू अध्ययन र सिकाइमा ध्यान दिनुस्। सांसदहरूले आफूले के गर्न मिल्ने र के गर्न नमिल्ने, सदनमा कसरी प्रस्तुत हुने, सरकार र जनतासँग कसरी प्रस्तुत हुनेबारे अध्ययन तथा विश्लेषण गर्नुपर्छ,' उनले भने।
उनले 'आरएसपी पल्स' एपमा सांसद र मन्त्रीहरूले आफ्ना गतिविधि नियमित अपडेट गर्न पनि निर्देशन दिएका छन्।
बालेन शाहको 'एक्लो' स्ट्याटसबारे रविले भने- उहाँ त कवि पनि हो नि!
प्रधानमन्त्री बालेन शाहले 'एक्लै लड्नुपर्छ' भन्दै केही समयअघि लेखेको स्ट्याटसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिक्रिया दिएका छन्।
सिंहदरबारमा बुधबार मन्त्री र सांसदहरूसँग छलफल राखेका लामिछानेले बाहिर निस्किँदा पत्रकारले प्रधानमन्त्रीको स्ट्याटस सम्झाएपछि यस्तो प्रतिक्रिया दिएका हुन्।
'उहाँ त एउटा कवि पनि हो, कलाकार पनि हो नि! अहिले यहाँ यत्रो भीडमा पनि मैले एक्लो फिल गर्न सक्दिनँ र? त्यसैले हामीले खोजे जस्तो हरेक शब्दको अर्थ खोज्न गयो भने त्यसको राजनीतिक अर्थ भन्ने नै हुँदैन। यत्रो सिंगो पार्टी सँगै उभिएको छ, कहाँ उहाँ एक्लो हुनु? तपाईंले अर्को अर्थ नलगाउनुहोस् न,' लामिछानेले भने।
पत्रकारले मन्त्री फेरिन लागेको हो र? भनेर पनि सोधेका थिए।
'मन्त्रीहरूले सयवटा काम गर्नुभएको छ, चार-पाँचवटामा प्रश्न आउनु स्वाभाविकै हो। रास्वपाभित्र आफ्नै भए पनि प्रश्न सुन्ने पार्टी हो। त्यसैले छलफल राखेका हौं। तर अहिले नै मन्त्री फेर्ने कुरा छैन। तयारी छैन। पार्टीमा झगडा पनि छैन,' उनले भने।
दलका वरिष्ठ नेता तथा प्रधानमन्त्री किन नआएको भन्ने प्रश्नमा उनले भने, 'आजको बैठक सांसदहरू र सभापतिबीचको छलफल हो। दलको बैठकमा दलका नेता आइहाल्नुहुन्छ, त्यसमा दुबिधा छैन।'
उनले ठूलो पार्टीमा धेरै सांसद भएकाले कहिलेकाहीँ बोली चिप्लिने र विवाद हुनु सामान्य भए पनि संसदीय मर्यादा आफूहरूकै जिम्मेवारी भएको बताए।
'धेरै सांसद भएको राजनीतिक दलभित्र कहिले कसको, कहिले कसको बोली चिप्लिन सक्छ। कहिलेकाहीँ काम गर्दागर्दै यताउता हुन सक्ने पनि होला। जसरी यति धेरै पत्रकार साथीहरू हुनुहुन्छ, सबैको समाचार सही नहुन पनि सक्छ। कहिले हेडलाइन बिग्रिन्छ, कहिले के। त्यस्तै हामी पनि धेरै छौं। धेरैमध्ये एक-दुई जनाले बोलेको विवादमा पनि पर्छ तर त्यसलाई हामी सम्हालिहाल्छौं,' उनले भने।
संसदमा सांसदहरूले बोल्नुपर्ने विषय, त्यहाँको प्रस्तुतिबारे आमनागरिक तहबाट पनि प्रश्न आइरहेकाले पार्टी पंक्तिमा छलफल गरिएको उनले बताए।
'आमनागरिक तहबाट पनि प्रश्नहरू आइरहेको, पार्टी पंक्तिबाट पनि यसबारे छलफल गर्नुपर्छ कि भनेर सुझाव आइरहेकाले हामी सबै एउटै पेजमा त हुनुपर्यो नि। त्यसैले सरकार, मन्त्रालय, मन्त्री, कसैका बारेमा असन्तुष्टिहरू पो छन् कि भनेर हामीले आन्तरिक छलफलहरू गर्यौं,' उनले भने, 'संसदको मर्यादा राख्ने पनि हाम्रो नै जिम्मेवारी रहन्छ। संसदमा मर्यादित तरिकाले उपस्थित हुने। त्यहाँ उठाउने विषयवस्तु आमनागरिकसँग जोडिएका हुनेबारे एकै पटक सबै बसेर एउटा बुझाइ बनाउन हो। आउँदा दिनमा संसदलाई मर्यादित बनाउने प्रयास हो।'
पार्टीको केन्द्रीय समिति र पदाधिकारी कहिले परिपूर्ति गर्नुहुन्छ भनेर सोधेको प्रश्नमा उनले भने, 'केन्द्रीय समितिलाई परिपूर्ण गर्ने भनेको पाँच वर्षभित्र गर्ने काम हो। यताउताको नाम भन्ने केही पनि छैन। रास्वपा एक हो। हामीले महाधिवेशन पछाडि समायोजनलाई समाप्त गरिसकेकाले अब विधानले सभापतिलाई मनोनयनको अधिकार अनुसार योग्य साथीहरूलाई क्रमश: ल्याउँदै जाने सिलसिलामा हामी छौं, भोलि ४ जना गरौंला, पर्सि ५ जना, त्यसपछि १० जना गरौंला। कसैले नाम दिने नै होइन, पार्टीभित्रका साथीहरूले काम गर्ने हो। यो एउटा पक्ष र अर्को पक्षले दिने भन्ने कुरा बिल्कुल खारेज गर्नुहोला।'