नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले लामो समयदेखि पार्टी मिलाउन प्रयास गरिरहेको तर अहिलेसम्म पनि नमिलेकोले अब आफू थाकिसकेको प्रतिक्रिया दिएका छन्।
गत पुसमा नियमित कि विशेष महाधिवेशन भन्ने विवाद रहँदादेखि नै नेता लेखक सबैको सहमतिमै महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका थिए। पुस मसान्तमा विशेष महाधिवेशन भयो, निवर्तमान सभापति शेरबहादुर देउवानिकट लेखक पनि महाधिवेशनमा सहभागी भएनन्।
विशेष महाधिवेशन र फागुनको आमनिर्वाचनपछि पनि पार्टी एकताबद्ध बनाउन लेखकले दुवै तर्फका नेताहरूसँग संवाद गरी भूमिका निर्वाह गर्दै आएका थिए। तर अब यो प्रक्रियाबाट आफू थाकिसकेको प्रतिक्रिया नेता लेखकले दिएका छन्।
‘पार्टी मिलाउन कोसिस गर्दागर्दा थाकिसक्या, पार्टी मिल्दैन, अब पार्टी मिलेन भने विभाजन हुने भयो,’ सेतोपाटीसँग कुराकानीका क्रममा नेता लेखकले भने, ‘पछिल्लो समय संवादहरू भएका छन् कि छैनन् मलाई थाहा पनि छैन। म त धेरै कोसिस गरेर नसकेपछि थाकेर बसेको हो।’
निवर्तमान सभापति शेरबहादुर देउवा सिंगापुर र हङकङमा ५ महिना उपचार गरेपछि साउन २८ गते स्वदेश फर्किएका थिए। भोलिपल्टै देउवा पक्षले राष्ट्रिय भेला/सम्मेलन गरेको थियो। उक्त सम्मेलनपछि झन् संस्थापन र संस्थापनइतर पक्षबीच संवाद नै हुन छाडेको नेताहरू बताउँछन्। नेता लेखकले पनि त्यसकै संकेत गरे। ‘पछिल्लो समयका संवादहरूबारे खासै जानकारी भएन,’ उनले भने।
साउन २९ देखि ३१ गतेसम्म पूर्वमहामन्त्री शशांक कोइरालाको अध्यक्षता र निवर्तमान सभापति देउवाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले धर्मलगायत ५ निर्णयहरू गरेको थियो। साथै १४ औं महाधिवेशनबाट निर्वाचित सभापति देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन हुनुपर्ने अडान संस्थापनइतर पक्षको छ तर यही बीचमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिले सभापति गगन थापाकै नेतृत्वमा असोज १६ देखि १९ गतेसम्म हुने १५ औं महाधिवेशनका लागि व्यवस्थापन समिति गठन गरिसकेको छ।
सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने देउवा पक्षले निर्णय गरेपछि संस्थापन पक्षसँग झन् सम्बन्ध चिसिएको छ। सभापति थापाले विधान बाहिरका भेलाहरूले गरेका यस्ता विषय पार्टीको अंग बन्न नसक्ने बताइसकेका छन्।
तर नेता लेखकले जीवन्त पार्टीमा यस्ता बहस भइराख्ने बताए।
‘जीवन्त र लोकतान्त्रिक पार्टीमा विचारहरू हुन्छन्। विभिन्न विचारका बीचमा मतान्तर हुन्छन्, हामी जे गरे पनि एकमतकै साथ गर्छौं,’ उनले भने, ‘नेताहरूका बीचमा विचारहरू फरक फरक हुन सक्छन्।’
सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने पक्षमा नेता लेखक पनि थिएनन्। उनी मात्र होइन, नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, मीनबहादुर विश्वकर्मालगायत नेताहरू पनि धार्मिक स्वतन्त्रताकै पक्षमा छन्।
तर राष्ट्रिय भेला/सम्मेलन समापन सत्रमा नेताहरू शंकर भण्डारी, प्रकाशशरण महतलगायत सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने पक्षमा उभिए। समापन मन्तव्य दिएका निवर्तमान सभापति देउवाले पनि तीन पटक 'म हिन्दु हुँ' भनेका थिए भने देउवाले आफू धार्मिक स्वतन्त्रताका पक्षमा रहेको प्रष्टीकरण दिएका थिए।
‘पार्टीभित्र विभिन्न विचारमा मतान्तर हुन्छन्, त्यही मतान्तर भएर त अहिले हामी विभाजन संघारमा पुगेका छौं त,’ नेता लेखकले भने, ‘कहीँ मान्यतामा मतान्तर हुन्छ, कहीँ अवधारणा र आदर्श सिद्धान्त, रणनीति, कार्यनीतिगत कुरामा मतान्तर हुन सक्छ।’
कांग्रेसमा विचारगत रूपमा छलफल र संवाद हुने परम्परा नै रहेको उनले बताए। ‘तर हामी सहमतिमै सबै विषयमा टुंगोमा पुग्छौं भन्ने विश्वास छ,’ उनले भने।
हालै केन्द्रीय निर्वाचन समितिले १५ औं महाधिवेशनको तल्ला तहहरूको अधिवेशन कार्यतालिका परिमार्जनसहित प्रकाशित गरेको छ।
निवर्तमान महामन्त्री शशांक कोइरालाले सभापति गगन थापा र निर्वाचन आयोगमा पार्टीका गतिविधि यथावत् राख्न आग्रहसहित यसअघि नै पत्रसमेत पठाएका थिए।
साथै संस्थापनइतर पक्षले फेरि सर्वोच्च अदालत जाने तयारी पनि गरेको छ। नेपाली कांग्रेसमा सांगठनिक, वैचारिक कामकारबाही नगर्न/नगराउन माग गर्दै सर्वोच्च जाने तयारी रहेको नेताहरू बताउँछन्।
तर संस्थापन पक्षले भने अदालतले महाधिवेशन नगर्न भनेकोले तोकिएकै समयभित्र महाधिवेशन हुने बताइरहेका छन्।
यो पनि- शेरबहादुर दाइ सानेपा आउनुस्, जुटेर महाधिवेशनमा जाऔं- प्रदीप पौडेल