राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बागमती मुख्यमन्त्रीमा दाबी पेस गरेका नेकपा एमालेका सांसद किरण थापाको दाबी नपुग्ने टिप्पणी गरेका छन्।
राप्रपा बागमती संसदीय दल नेताको दिएको समर्थन पत्रलाई मान्यता नदिन पार्टीले प्रदेश प्रमुखलाई आग्रह गरिसकेको उल्लेख गर्दै उनले अहिले राप्रपाले कुनै दललाई नयाँ सरकार बनाउन समर्थन नदिएको बताएका छन्।
‘बागमती मुख्यमन्त्रीमा किरण थापाको दाबी पुग्दैन, बागमती प्रदेश प्रमुखले अख्तियारको दुरूपयोग गर्नु हुने छैन,’ प्रवक्ता श्रेष्ठले भने, ‘व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन, बागमती प्रदेशमा १२ सांसद भएको राप्रपाबाट एक जना सांसदले एक्लैले समर्थन दिन सक्दैन र मिल्दा पनि मिल्दैन। एकजनाको मात्र भए पनि समर्थन मान्ने हो भने पनि मुख्यमन्त्रीमा दाबी गर्नेको संख्या पुग्दैन, संख्या नपुगी गरिएको दाबीको अर्थ रहने छैन।’
उनले संसदीय दलको नेताको लेटरप्याडमा दिइएको भनिएको समर्थनमा दलकै समर्थन नरहेको पनि बताए।
‘समर्थनको एजेण्डामा संसदीय दलको बैठक बसेकै छैन। अनधिकृत हस्ताक्षरलाई मान्यता नदिन पार्टी केन्द्र, पार्टी अध्यक्ष र संसदीय दलको प्रमुख सचेतकले प्रदेश प्रमुखलाई आग्रह गरिसकेको अवस्था छ। परिपक्व प्रदेश प्रमुखले अख्तियारको दुरूपयोग गर्नुहुने छैन भन्ने विश्वास छ,’ उनले भने।
बागमतीमा राप्रपाका १२ जना सांसद छन्। एमाले, नेकपा र राप्रपा मिलेर यहाँ मुख्यमन्त्रीका लागि बुधबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिसकेका छन्।
बागमती राप्रपाका कतिपय सांसदहरू भने सरकारमा जाने तयारीमा छन्। उनीहरूले गठबन्धनभित्र ३ मन्त्रालयमा दाबी गरेका छन्।
तर राप्रपाले पार्टी केन्द्रको निर्देशनविपरीत कार्य गरेको भन्दै अनुशासन कारबाही तयारी गरेको छ। यहाँ सरकार बनाउन नेकपा र एमालेलाई २ सांसद चाहिन्छ।