राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारका लागि आउने बिरामीले अब मोबाइलबाटै ‘ओपिडी’ टिकट लिन सक्ने भएका छन्।
सूचना प्रविधिको प्रयोग गर्दै प्रतिष्ठानले अनलाइन ओपिडी टिकट सेवा सुरु गरेको हो।
प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईका अनुसार बिरामीले ‘राप्ती एकेडेमी हेल्थ’ वा ‘मेरो डाक्टर’ एप डाउनलोड गरी मोबाइल नम्बर र पासवर्डमार्फत ‘लगइन’ गर्न सक्नेछन् ।
एपमा प्राप्त हुने ओटीपी कोड राखेर सेवा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। यो सेवा आजदेखि सञ्चालनमा ल्याइएको हो ।
प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. अजयकुमार मिश्रले सरकारको सुशासन अभियानलाई साथ दिँदै सूचना प्रविधिको युगलाई व्यवहारमै लागू गरी बिरामीमैत्री सेवा प्रवाह गर्नु प्रतिष्ठानको प्रमुख उद्देश्य रहेको बताए।
उनले बिरामीको सहजता, समय बचत तथा सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन अनलाइनमार्फत ओपीडी टिकट लिन सकिने व्यवस्था सुरु गरिएको जानकारी दिए।
अनलाइन प्रणालीमार्फत बिरामीले नियमित ओपीडी छनोट गरी आफूले उपचार गराउने सेवा, चिकित्सक तथा उपलब्ध समय छनोट गर्न सक्नेछन् ।
नयाँ बिरामीले आवश्यक विवरण भर्नुपर्नेछ भने पुराना बिरामीले आफ्नो कार्ड तथा विवरणअनुसार सेवा लिन सक्ने व्यवस्था गरिएको छ।
मोबाइल नम्बर र एप प्रयोग गरी बिरामीले आफ्नो विवरण सुरक्षित रूपमा प्रविष्ट गरेर आवश्यक सेवा तथा समय छनोट गरी ओपिडी टिकट लिन सक्नेछन् ।
अस्पतालमा टिकट काट्न लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता कम हुने प्रतिष्ठानका अस्पताल निर्देशक सहप्राध्यापक डा. सुरेश रसाइलीले बताए।
प्रतिष्ठानले डिजिटल प्रविधिको प्रयोगमार्फत स्वास्थ्य सेवा थप सहज, छिटो, सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यले अनलाइन ओपिडी टिकटको व्यवस्था गरेको उनले जानकारी दिए।
घरमै बसेर ओपीडी टिकट लिन सकिने भएपछि बिरामीको समय बचत हुनुका साथै अस्पतालमा हुने भीड व्यवस्थापनमा समेत सहयोग पुग्ने प्रतिष्ठानले जनाएको छ।