सत्तारूढ रास्वपा सांसद अमरेशकुमार सिंहले अख्तियार दुरूपयोग अनुसन्धान आयोग संवैधानिक अंग हो कि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको शाखा हो स्पष्ट पार्न आग्रह गरेका छन्।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा बोल्दै उनले भने, ‘अख्तियार संवैधानिक अंग हो कि प्रधानमन्त्री कार्यालयको शाखा हो, स्पष्ट गरिदिनुस्। यसले प्रधानमन्त्रीको समेत छानबिन गर्न सक्छ।’
उनले प्रधानमन्त्रीले बोलाए नजान र चिठी दिनु भन्न पनि आग्रह गरेका थिए। ‘अख्तियारको मर्यादा समाप्त हुँदैछ। प्रधानमन्त्री हुँदैमा कोही राजा हुँदैन। सांसद रैती हुँदैन,’ उनले भने।
उनले अख्तियार प्रमुखसहितलाई ७ घन्टा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाइएको प्रसंगसमेत चर्चा गरेका थिए।
साथै उनले अख्तियारको पनि आलोचना गरे। ‘अख्तियारले पनि बिचौलिया पाल्दो रहेछ। सय जना चिन्छु। त्यहाँ बसेर पैसा उठाउँदा बदनाम हुन्छ। अख्तियारले सम्पत्ति हेर्ने आफ्नो दायित्व पूरा नगर्दा अरू आयोग बने,’ उनले भने, ‘भैरहवा विमानस्थलमा भ्रष्टाचार भएको छ। म रेकर्ड गराउँछु। ठूला भ्रष्टाचारमा केही नगर्ने?’
समिति बैठकमा अख्तियार प्रमुखसहित आयुक्तहरू पनि सहभागी छन्।
उनले सरकारी वकिलले मुद्दामा दफा थप्ने–हटाउने गर्दा मुद्दा कमजोर हुने गरेको प्रसंग पनि सुनाएका थिए।
उनले निर्वाचन आयोग पनि पूर्वकर्मचारीको क्लब जस्तै भएको बताएका थिए।