जय नेपाल पार्टीको पहिलो केन्द्रीय कार्यसमिति बैठकमा सभापति धवल शम्शेर राणाले राजनीतिक कार्यपत्र पेस गरेका छन्।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठक नवदुर्गा पार्टी प्यालेस सुकेधारामा बसेको हो।
विश्वसनीय राष्ट्रवादी शक्तिको अभाव र आवश्यकता पूर्ति गर्दै एकता, स्थिरता कायम गर्ने र आर्थिक समुन्नतिको लक्ष्य हासिल गर्ने उद्देश्यसहित गठन भएको दलको बैठकमा संगठन निर्माणका साथै आगामी कार्यदिशाका बारेमा छलफल र महत्वपूर्ण निर्णय हुने पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले बताए।
यस्तो छ कार्यपत्र-
जय नेपाल पार्टी र त्रिकोण
सनातन धर्म, संवैधानिक राजसंस्था, प्रजातन्त्र
निर्वाचन आयोगमा २०८३ साउन २९ गते विधिवत रूपमा जय नेपाल पार्टी (जनेपा) दर्ता गरेपछिको यो पहिलो केन्द्रीय कार्यसमितिको बैठक हो। यो ऐतिहासिक बैठकमा उपस्थित नेतागण, केन्द्रीय सदस्य मित्रहरूलाई स्वागत गर्न चाहन्छु। समयको गति भनौं या नियतिले हामीलाई एकसाथ उभ्याइदिएको छ। नयाँ पार्टी र नयाँ भूमिकाको साथै ठूलो अभिभारा हाम्रो काँधमा आएको छ। स्पष्ट विचार र दृढ संकल्प लिएर नयाँ राजनीतिक यात्रा हामी आरम्भ गर्दैछौं। शान्त, समुन्नत, आत्मनिर्भर र सभ्य नेपाल निर्माण गर्ने पवित्र लक्ष्य तय गर्न, स्पष्ट नीति र कार्ययोजनाको बलमा द्रुततर गतिमा संगठन निर्माण गर्नेछौं । जनअपेक्षालाई ऊर्जा र प्रेरणाको स्रोत मान्नेछौं र जे भन्छौं त्यही कुरा व्यवहारमा लागू गर्नेछौं।
विधिको शासन, मानव अधिकार, पारदर्शिता, जवाफदेहिता, सुशासन, सामाजिक न्याय, समावेशिता, समानता, बहुलवादमा प्रतिबद्ध जय नेपाल पार्टी शान्तिपूर्ण राजनीतिमा विश्वास राख्ने प्रजातान्त्रिक पार्टी हो । जनमुखी भावनाबाट निर्देशित रहँदै कर्म एवं कर्तव्यनिष्ठ मान्यता तथा आचरण विकास गर्न हामी दृढ संकल्पित छौं । नेपालको ऐतिहासिक विरासत, मौलिक वैचारिक जग र राष्ट्रिय दायित्व नयाँ पुस्ता र भावी पुस्तामा सुरक्षित हस्तान्तरण गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं।
आजको आवश्यकता
नेपाली समाजका धार्मिक, सांस्कृतिक, नैतिक धरोहर र तिनमा आधारित सभ्यता र विरासतको निरन्तरता आजको आवश्यकता हो। तथापि, राजनीतिमा सेवाभाव, कर्तव्यबोध र समर्पण क्षीण हुँदै जाँदा सामाजिक सहिष्णुता र एकतामा खलल पुग्ने अवस्था सिर्जना भयो । समाजका अगुवाहरूकै चिन्तन र व्यवहारमा स्वार्थ हावी भएपछि, नैतिकता र वचनबद्धता स्खलित हुन पुग्यो। यसकारण, राष्ट्रियताको जग सुदृढ गर्दै एकता, स्थिरता र आर्थिक समुन्नतिको बाटो तय गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आइपुगेको छ।
राजनीतिलाई व्यापार मान्ने, जनताको एजेन्डालाई सत्ताको भर्याङ बनाउने र एउटा भन्ने तर अर्को गर्ने जस्ता स्वार्थी एवं आत्मकेन्द्रित प्रवृत्तिका कारण राष्ट्रवादी विचार र एजेन्डामाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ। त्यसैले राष्ट्र, राष्ट्रियताका विहंगम महत्व उजागर गर्न, नेपालको गौरवमय विरासत निरन्तर राख्न, वस्तुतः राष्ट्रवादको एजेन्डा बचाउन र बढाउन जय नेपाल पार्टीको छातामुनि हामी गोलबद्ध हुनुपर्ने ऐतिहासिक अवसर सिर्जना भएको छ।
यस अर्थमा, सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्रका बलियो जगमा उभिएर देश र जनताको मुद्दा र एजेन्डा इमानदारीका साथ अघि बढाउनु अपरिहार्य भएको छ । जसअनुरूप, राष्ट्रियता र एकताको आधार संवद्र्धन गर्दै, ऐतिहासिक विरासत नयाँ पुस्ता र भावी पुस्तामा सुरक्षित हस्तान्तरण गर्न हामी प्रतिबद्ध छौं।
त्रिकोण
हिमाल, पहाड, तराई — एकता, स्थिरता, समुन्नति
सनातन धर्म, संवैधानिक राजसंस्था, प्रजातन्त्र
सनातन धर्म- नेपाललाई हिन्दु, बौद्ध, किरातसहितको सनातन अधिराज्यका रूपमा पुनःस्थापना गर्ने।
संवैधानिक राजसंस्था- अभिभावकीय, राष्ट्रिय एकता र राष्ट्र रक्षकको भूमिकामा रहने संवैधानिक राजसंस्थाको पुनःस्थापना गर्ने।
प्रजातन्त्र- बहुदलीय प्रजातान्त्रिक अभ्यास, विधिको शासन, भ्रष्टाचार नियन्त्रण र सुशासनमार्फत देशमा आर्थिक समुन्नति हासिल गर्ने।
प्राथमिकता र प्रतिबद्धताहरू
१. ‘नेपाल पहिलो’ भन्ने राष्ट्रिय मान्यता र सनातन सभ्यता राष्ट्रिय गौरवका आधारशिला हुन्।
२. नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान, इतिहास, सभ्यता, संस्कृति, परम्परा र राष्ट्रिय एकताको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न हामी प्रतिबद्ध छौं।
३. राष्ट्रियता, देशभक्ति, राष्ट्रवाद, प्रजातन्त्र, उदारवाद, उत्पादनमुखी प्रतिस्पर्धात्मक मिश्रित अर्थतन्त्रमा आधारित जनकल्याणकारी राज्य शान्ति र समृद्धिका आधार हुन्।
४. संवैधानिक राजसंस्थासहितको प्रजातान्त्रिक शासन प्रणालीमा हिन्दु बौद्ध किरातसहितको सनातन अधिराज्य पुनःस्थापना गर्न दृढसंकल्पित छौं।
५. नेपालको राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा, असंलग्न परराष्ट्र नीति तथा विश्व शान्तिप्रतिको प्रतिबद्धता सुदृढ गर्दै सम्मानित अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्ने हाम्रो लक्ष्य हो।
६. विज्ञान, नवप्रवर्तन, प्रविधि विकास, डिजिटल सुशासन तथा ज्ञानमा आधारित अर्थतन्त्रको प्रवद्र्धन गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउनेछौं।
७. भ्रष्टाचार, दण्डहीनता, गरिबी, विभेद, अपराधीकरण र सबै प्रकारका अन्याय न्यूनीकरण गर्दै अवसरसम्पन्न, रोजगारमुखी, स्थिर, समृद्ध र आत्मनिर्भर नेपाल निर्माणमा योगदान पुर्याउन संकल्पित छौं।
८. नेपालको संस्कृति, परम्परा, सनातन सभ्यता, सहिष्णुता, परम्परागत ज्ञान, नैतिक मान्यताको संरक्षण, संवद्र्धन तथा पुस्तान्तरण गर्दै नयाँ पुस्ता तथा भावी पुस्तामा सभ्यतागत विरासत सुरक्षित हस्तान्तरण गर्ने हाम्रो अठोट हो।
९. जल, जमिन, जंगल, जडीबुटी, उद्योग, कृषि, पर्यटनमा लगानी र विकास गरी आर्थिक समृद्धि तथा रोजगारी सिर्जना गर्न हामी क्रियाशील रहनेछौं।
१०. निःशुल्क गुणस्तरीय शिक्षा, स्वास्थ्य, सीप विकासबाट युवाहरूलाई शिक्षा र विकासको अवसर प्रदान गर्न प्रतिबद्ध छौं।
११. युवाको नेतृत्व, महिला सशक्तीकरण, उद्यमशीलता, सीप, अनुसन्धान, सिर्जनशीलता तथा राष्ट्रिय विकासमा अर्थपूर्ण सहभागिता प्रवर्धन गर्न संकल्पित छौं
१२. वातावरण संरक्षण, प्राकृतिक स्रोतको दिगो उपयोग तथा जलवायु उत्तरदायी विकासमार्फत वर्तमान तथा भावी पुस्ताप्रति राष्ट्रिय दायित्व निर्वाह गर्नेछौं।
एकताको आह्वान
संवैधानिक राजसंस्था र धर्ममा विश्वास राख्ने, प्रदेशको पुनर्संरचना, भ्रष्टाचारको न्यूनीकरण र सुशासन चाहने सबै नेपालीलाई एकजुट भएर अघि बढ्न हामी हार्दिक आह्वान गर्दछौं । आगामी स्थानीय निर्वाचनमा उम्मेदवार बन्न इच्छुक प्रतिभाशाली नागरिकहरूलाई सम्पर्क गर्न, पार्टीमा आबद्ध भएर तयारीसाथ अघि बढ्न अनुरोध र आह्वान गर्दछौं।
सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्रका आधारस्तम्भमा हिमाल, पहाड, तराईलाई जनताको प्रेरणाबाट एकताबद्ध राख्ने हाम्रो प्रण हो । यही उद्देश्यका साथ देशका ७७ वटै जिल्लामा संगठन निर्माणका क्रम संस्थागत रूपमा प्रारम्भ गर्नेछौं । केन्द्रीय कार्यसमिति, प्रदेश, जिल्ला र स्थानीय तहका संगठनहरू क्रमिक रूपमा विस्तार गर्नेछौं । जय नेपाल पार्टी निर्वाचन आयोगमा विधिवत दर्ता गर्ने क्रममा अहोरात्र मेहनत गर्ने पार्टीपंक्ति र आम शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछौं ।
डा. धवलशम्सेर राणा, सभापति जय नेपाल पार्टी