राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले गैरसरकारी संस्था (एनजिओ) लाई दोष दिनुभन्दा सरकारले बालबालिका तथा लक्षित वर्गको संरक्षणमा प्रत्यक्ष जिम्मेवारी लिनुपर्ने बताएकी छन्।
बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा उनले एनजिओ तथा नागरिक समाजले राज्यको जिम्मेवारी समेत बहन गरिरहेको बताइन्।
उनले अरूलाई दोष दिनुभन्दा पहिला सरकारले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताइन्।
उनले एनजिओ तथा आइएनजिओले सरकारले गर्न नसकेका कामहरू गरिरहेको दाबी गरिन्।
राम्रा काम गर्ने एनजिओलाई नियन्त्रणभन्दा पनि सहकार्य र नियमित अनुगमन आवश्यक रहेको उनको भनाइ छ।
उनले एनजिओले प्राप्त गर्ने रकमको पारदर्शिता र अनुगमन आवश्यक रहेको बताइन्।
उनले समाज कल्याण मन्त्रालयको सम्पत्ति तथा स्रोतको प्रभावकारी उपयोग हुन नसकेको बताइन्।
उनले भनिन्, ‘हामी बोल्न त सबैलाई आउँछ, होइन? जम्मैले अरूलाई दोष दिन त आउँछ। तर जिम्मेवारी हामी कति लिएका छौँ, भन्ने कुरामा चाहिँ ठूलो कुरा हो। संविधानले दिएको अधिकार प्रयोग गरेर आइएनजिओ, एनजिओले काम गरिरहेको छ। एनजिओमा म ३५ वर्ष काम गर्ने मान्छे पनि म नै हो, अरूलाई दोष दिनुभन्दा पहिला गभर्मेन्टले जिम्मेवारी लिनु पर्यो। अब त्याग गर्ने हो भने यो सबै जिम्मा लिनु पर्यो, आज बच्चाहरू जेलका बच्चाहरूलाई पूरा अलावन्स, चाइल्ड प्रोटेक्सन ल बनाउनु पर्यो। प्रत्येक बच्चालाई खाने र बस्ने, स्कुल जाने त्यो फ्रि गर्नु पर्यो, सरकारले। नभए एनजिओहरूले आफ्नो तरिकाले गरिररहेको छ। यस्तो दुःख पनि दिनु हुँदैन। आफू पनि हामी गर्न नसक्ने, अरू गर्ने मान्छेलाई पनि सहज नगर्दिने। खाली ब्लेम लाएर हुन्छ? यहाँ ब्लेम लाउने मान्छेहरू आफै मिल्छन् होला सायद। त्यसकारण त्यसरी पनि हामीले बायस गर्नु हुँदैन। प्राइभेट सेक्टर र एनजिओ, सिभिल सोसाइटीले गर्दा नै अहिले यो देश थामिएको छ।’
उनले कर्णाली लगायत दुर्गम क्षेत्रमा जाने सरकारी तथा अन्य स्रोतको रकमको प्रभावकारी अनुगमन गर्नुपर्ने उल्लेख गरिन्। –न्युज एजेन्सी नेपाल