प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एलपी ग्यासको खपत, व्यवस्थापन र सुरक्षाका लागि आधुनिक प्रविधिको प्रयोग र प्रभावकारी ट्रयाकिङ प्रणाली लागू गर्न सरकारलाई निर्देशन दिएको छ।
बिहीवार सिंहदरबारमा बसेको बैठकमा समिति सभापति रहबर अन्सारीले ग्यास सिलिण्डरको लगत राख्ने र व्यावसायिक एवं घरायसी प्रयोजनका सिलिण्डर वर्गीकरण गर्न पनि निर्देशन दिएका हुन्।
‘सिलिण्डरको उत्पत्ति कहाँ भयो, कहिले भरियो र यसको अन्तिम परीक्षण कहिले भयो भन्ने स्पष्ट जानकारी ट्रयाकिङ प्रणालीमार्फत थाहा हुनुपर्छ। ट्रयाकिङ भन्ने बित्तिकै खाली ट्रयाकिङ मात्र होइन कि यो सम्ब कम्प्रिहेन्सिभ नै कुरा गर्न खोज्या हौं,' उनले भने।
उनले आगामी १५ देखि २० वर्षसम्म एलपी ग्यासको सान्दर्भिकता कायम रहने भन्दै उनले आयल निगमलाई एक वर्षभित्र ग्यास वितरण र व्यवस्थापनका समस्या समाधान गरी प्रणालीलाई व्यवस्थित (स्ट्रिमलाइन) गर्न निर्देशन दिए।
उहाँले कुरियर सेवामा पार्सल ट्रयाक गरेजस्तै ग्यास सिलिण्डरको पनि ट्रयाकिङ आइडीमार्फत निगरानी राख्न सकिने र यसले भुक्तानी प्रणालीलाई समेत व्यवस्थित बनाउने उल्लेख गरे।
उनले उद्योगी व्यवसायीहरूलाई पनि राज्यको नीति र प्रविधिमा अभ्यस्त हुन आग्रह गर्दै निगमसँग सहकार्य गर्न आह्वान गरे।
व्यावसायिक र घरायसी सिलिण्डरको साइज र रंगमा भिन्नता ल्याएर बजार अनुगमनलाई थप प्रभावकारी बनाउन सकिने समेत उनले स्पष्ट पारे।–न्युज एजेन्सी नेपाल