सत्तारूढ रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधि सभामा दुई तिहाइ पुग्दैमा त्यसले संविधान संशोधन नहुने बताएका छन्।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा कुराकानी गर्दै उनले प्रतिनिधि सभामा दुई तिहाइ पुग्दैमा त्यो नम्बर संविधान संशोधनका लागि पर्याप्त नहुने बताएका हुन्।
‘कतिपय साथीहरूले सरकारले आँट गरोस्, हामी समर्थन गर्छौं भन्नुभएको छ। संख्या दिन्छौं भन्नुभएको छ। प्रतिनिधि सभामा दुई तिहाइ पुग्दैमा संविधान संशोधन गर्ने नम्बर पर्याप्त होइन,’ उनले भने, ‘प्रतिनिधि सभाको मात्रले संविधान संशोधन हुन सक्दैन। यीलगायत कुरा हामीले बुझ्नुपर्छ।’
उनले सरकारलाई सहयोग गर्छु भन्ने हिसाबाट सांसदहरूले कुरा राखेको हो भने त्यसलाई स्वागत छ भनेका थिए। उनले तथ्य, कानून र संविधानलाई याद गर्न पनि आग्रह गरेका थिए।
सभापति लामिछानेले संवैधानिक निकायहरूलाई नियुक्तिका आधारमा 'पार्टी' को भन्न नहुने पनि बताए।
‘संविधानले दिएको दायित्वअनुसार नै नियुक्ति गरिएका हुन्छन्,’ उनले भने, ‘आरोपित गर्ने ढंगले भनिदिँदा ती संस्था नेतृत्व गर्नेहरूमाथि मानमर्दन हुन जान्छ। म व्यक्तिका पछि छैन तर संस्थाको मानमर्दन नहोस् भन्ने हो। संस्थाहरूको क्षयीकरण गर्दै गयो भने त्यसले लोकतन्त्रलाई कमजोर बनाउँछ कि जस्तो लाग्छ।’
कसैले कसैलाई नटेर्ने र विश्वास नगर्ने परिकल्पना आफूहरूले नगरेको पनि उनले बताए।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुशासनका क्षेत्रमा धेरै काम गरोस् भन्ने धेरैले अपेक्षा राखे पनि आयोगलाई स्रोत साधन सम्पन्न बनाउन भने खासै ध्यान नपुगेको उनको भनाइ थियो। उनले कानुनअनुसार अघि बढ्न अख्तियारलाई कुनै किसिमको हस्तक्षेप नहुने पनि बताएका थिए।
‘हामी सरकारमा आएपछि अख्तियारमा कोही पनि नियुक्त हुनुभएको छैन। विभिन्न सरकार भएका बेला उहाँहरू सिफारिस हुनुभएको हो,’ उनले भने, ‘अख्तियारलाई हामी कुनै हस्तक्षेप गर्दैनौं, यसले कानुनअनुसार काम गरोस्।’