राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेले आफूहरूको पार्टीमा चलखेल गरेको बताएका छन्।
यो कुरा उनले बागमती प्रदेशमा विकसित घटनाक्रमलाई लिएर आज केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकपछि निर्णय सुनाउने बेला पत्रकारहरूसँगको कुराकानीमा भनेका हुन्।
बागमतीमा राप्रपा केन्द्रको निर्देशनविपरीत संसदीय दल नेता उद्धव थापाले एमाले सांसद किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गर्दै पत्र दिएका थिए। बागमतीमा राप्रपाका १२ सांसद छन्। यहाँ सरकार बनाउन बहुमत जुटाउन एमाले र नेकपालाई २ सांसद चाहिन्थ्यो।
एमाले र नेकपा नेतृत्वले राप्रपा नेतृत्वसँग सहयोगसमेत नमागी बागमती प्रदेशमा चलखेल गरेको लिङ्देन बताउँछन्।
‘एमालेले सत्ताकेन्द्रित गतिविधिमा विगतमा जस्तै दलहरूका बीचमा खेल्ने काम गर्थ्यो, त्यो अहिले पनि एमालेले गरेको प्रष्ट रूपमै आयो,’ अध्यक्ष लिङ्देनले भने, ‘किनभने एमालेले बागमती प्रदेश सरकार निर्माणका लागि औपचारिक रूपमा राप्रपासँग आग्रह वा पत्र वा पार्टी कार्यालयमा आएर आग्रह पनि गरेको छैन।’
एमालेले राप्रपा बागमती प्रदेशका सांसदहरूलाई हातमा लिने प्रयास गरेको पनि उनले बताए। ‘प्रदेश सभा सदस्यहरूलाई हातमा लिने खालको प्रयास गरियो र त्यो परिणाम बाहिर आएको छ, यसमा चलखेल भन्ने प्रष्ट देखिन्छ,’ उनले भने।
उनकाअनुसार पार्टी निर्देशनबिना गतिविधि गरेका संसदीय दल नेता उद्धव थापालाई कारबाही गरिएको छ। ‘अहिले संसदीय दल नेतालाई कारबाही गरिएको छ, अब जो जो सरकारमा सहभागी हुन्छन्, उनीहरूलाई पनि कारबाही गरिन्छ,’ उनले भने।
बागमती सरकारमा राप्रपा ३ मन्त्रालयसहित सरकारमा सामेल हुने तयारीमा छ।
यसैबीच राप्रपा प्रवक्ता मोहन श्रेष्ठले केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि विज्ञप्ति जारी गरेका छन्।
‘बागमती प्रदेश सभाका सदस्य एवं संसदीय दलका नेता उद्धब थापाले पार्टीको निर्णय र पटकपटकको निर्देशन विपरीत प्रदेश सरकार गठनमा समर्थन दिने काममा संलग्न भएकाले यस विषयलाई गम्भीर अनुशासन उल्लंघनको रुपमा लिदै निजलाई केन्द्रीय अनुशासन समितिको सिफारिशमा राप्रपा विधानको धारा ३०(ड)र ३२(ङ) बमोजिम बागमती प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने, पार्टी सदस्यता निलम्बन गर्ने र उक्त निर्णयको जानकारी बागमती प्रदेशसभा, निर्वाचन आयोग र सम्बन्धित अन्य निकायलाई पठाउने निर्णय गरिएको छ,’ उनले भनेका छन्।
यसैगरी, पार्टीको निर्णय र निर्देशन विपरीत सरकार निर्माणको गतिविधिमा संलग्न नहुन पार्टीको बागमती प्रदेशसभा सदस्यलाई राप्रपाले अपिल पनि गरेको छ।
‘पार्टीको निर्णय र निर्देशन बिना सरकारलाई समर्थन दिने वा सरकारमा सहभागी हुने काममा पार्टीको प्रदेशसभा सदस्य संलग्न भएमा सोही बमोजिमको कारबाही गरिने निर्णय गरिएको छ। बैठकको निर्णयमा पूर्व अध्यक्ष कमल थापाको फरक मत रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ।