नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न नसक्ने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित दोलखाका लोकनायकहरू पुस्तक विमोचन कार्यक्रममा उनले अब नेपालमा राजनीतिक ‘एड्भेन्चर’ नचाहिएको बताएका हुन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँच वर्षको लागि सरकार चलाउन जनताबाट म्याण्डेड लिएर आएकोले उसलाई पाँच वर्ष काम गर्ने अवसर दिनुपर्ने बताए।
पाँच वर्षपछि कांग्रेसले सरकार चलाउने गरी आफूहरूले तयारी गरिरहेको पनि उनले जानकारी दिए।
उनले विगतबाट पाठ सिकेर आफूलाई सच्याउँदै अघि लैजाने बताए।
उनले नयाँ राजनीतिक शक्तिहरूलाई पनि पुराना दलहरूले गरेको गल्ती र भोगेको संकट नदोहोर्याउन सुझाव दिए।
उनले संख्या नै ठूलो भन्ने भ्रमबाट मुक्त हुन पनि सरकारलाई आग्रह गरे।
विगतमा कांग्रेस–एमालेले पनि जनताको असन्तुष्टिलाई बेवास्ता गर्दै आफूहरूसँग रहेको बहुमत र जनादेशलाई पर्याप्त ठानेको परिणाम अहिले भोग्नुपरेको उनको भनाइ छ।
दुईतिहाइ बहुमत भए पनि निरन्तर जनसमर्थन र नैतिक नेतृत्व गुमेपछि राजनीतिक शक्ति कमजोर बन्ने उनले बताए।
लोकतन्त्रमा नैतिक नेतृत्वको महत्वपूर्ण हुने उनको भनाइ छ। सरकारले निर्वाचनमा मत दिएका र नदिएका दुवै नागरिकको विश्वास कायम राख्नुपर्ने उनले बताए।
उनले भने, ‘हामी एकैपटक माथि मात्रै हेर्यौं, हामीसँग पाएको शक्ति, प्रतिष्ठा मात्रै हेर्यौँ, त्यसले हामीलाई ठिक ठाउँमा पुर्याउन सक्दैन। हिजो हामीले सिकेको कुरा हो यो, हामी त्यो सिकाइबाट आफूलाई सच्याउन चाहन्छौँ, आफूलाई बदलेर लैजान चाहन्छौँ। नयाँ साथीहरूले पनि उहाँहरूले नभोगेको कुरा हामीले भोग्यौँ नि त बाबा। हामीले भोगेको कुरा किन तपाईंहरू भोग्नुहुन्छ फेरि? तपाईंहरू त नभोग्नुस्। म त म त बारम्बार भनिरहेको छु, मज्जाले अहिलेको कम्तीमा कुनै नयाँ पोलिटिकल एड्भेन्चर नेपालमा नगर्नुहोस् अब। नेपालले थेग्न सक्दैन।’
उनले अगाडि भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचित जितेर आएको छ, ५ वर्ष उहाँहरूले नेतृत्व गर्नेछ। एकैचोटि अर्को ५ वर्षपछि चुनाव गर्ने, हामीले राम्रो उहाँहरूभन्दा राम्रो गर्ने गरेर तयारी गरिरहेका हुन्छौँ नि त हामी। नयाँ सोचका साथ आउँछौँ, नयाँ चिन्तनका साथ आउँछौँ, नयाँ साथीहरू जोड्छौँ। हामी जित्यौँ भने हामी आउने, नभए फेरि उहाँहरूले चलाउने। नयाँ पोलिटिकल एड्भेन्चर नेपालमा नगर्नुस्। तर पोलिटिकल एड्भेन्चर नगर्नको लागि नागरिकहरूको निरन्तरको साथ हामी सबैलाई चाहिएको छ। तपाईंहरूलाई पनि चाहिएको छ, हामीलाई पनि चाहिएको छ।’
सभापति थापाले संसदको गरिमा र सांसदको जिम्मेवारीप्रति पनि प्रश्न उठाए।
संसदमा पुगेपछि सांसदहरूले आफूले बोल्ने हरेक शब्द र गर्ने हरेक निर्णयप्रति गम्भीर हुनुपर्ने उनको भनाइ छ। हाल सांसदहरूले जे मन लाग्यो त्यही बोल्ने गरेको उनको आरोप छ। –न्युज एजेन्सी नेपाल