युक्रेनको राजधानी किभमा त्यस आसपासका क्षेत्रमा रूसले भीषण हमला गर्दा १७ जनाको मृत्यु भएको छ।
बिहीबार रातभरि रूसले गरेको हमलाबाट दर्जनौं घाइते भएको रूसी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ।
यो हमलालाई रूसले अहिलेसम्म गरेको मध्यकै ठूलो हमला भनिएको छ। हमलामा ८ सय भन्दा बढी ड्रोन र मिसाइल प्रयोग गरिएको थियो।
किभमा अस्पताल, विद्यालय,आवासीय भवन तथा गोदामहरूमा क्षति पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्।
लगातार विस्फोटका कारण रातको समयमा युक्रेनी आकाश उज्यालो देखिएको थियो। आकाशमा धुवाँका मुस्लोहरूसमेत देखिएको थियो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सार्वजनिक गरेको भिडियोमा किभका विभिन्न क्षेत्रमा भीषण विस्फोटपछि लागेको ठूलो आगो देखिएको थियो।
आक्रमणको असर युक्रेनको सीमाबाहिर पनि देखिएको छ। रोमानियाले रुसी भएको आशंका गरिएको विस्फोटक बोकेको समुद्री ड्रोन आफ्नो क्षेत्रमा प्रवेश गरेको जनाएको छ भने मोल्डोभाले पनि रुसी ड्रोन आफ्नो भूभागमा खसेको बताएको छ।
युक्रेनले रुसले ठूलो संख्यामा प्रयोग गर्ने ड्रोनमध्ये धेरैलाई हवाई प्रतिरक्षा प्रणालीमार्फत खसाल्न सफल हुँदै आएको छ।
तर पछिल्ला साताहरूमा रुसले तीव्र गतिमा आउने ब्यालिस्टिक मिसाइलबाट बचाउन आवश्यक अमेरिकी प्याट्रियट प्रणालीका इन्टरसेप्टर मिसाइलको अभावलाई उपयोग गरिरहेको युक्रेनी अधिकारीहरूले बताएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै महिनाको सुरुआतमा सीएनएनसँगको अन्तर्वार्तामा युक्रेनसँग अमेरिका तथा अन्य सहयोगीबाट तत्काल आवश्यक पर्ने इन्टरसेप्टर मिसाइलको करिब १० प्रतिशत मात्र रहेको बताएका थिए।
रोमानियाकी विदेशमन्त्री ओआना टोइउले युरोपेली सहयोगीहरूले युक्रेनको हवाई प्रतिरक्षामा थप कसरी सहयोग गर्न सकिन्छ भनेर विश्लेषण गरिरहेको बताइन्।
'यो रुसका ड्रोन आक्रमण बढेको कारण मात्र होइन, अहिले रहेको कमजोर हवाई प्रतिरक्षाका कारण पनि स्पष्ट देखिन्छ,' उनले सीएनएनसँग भनिन्।
युक्रेनी राजधानीबाहेक चेर्निहिभ क्षेत्रमा रहेको ग्यास पूर्वाधार र ओदेसा क्षेत्रमा मोल्दोभासँग जोडिएको सीमा नाकामाथि पनि रुसी आक्रमण भएको जेलेन्स्कीले बताएका छन्।
झितोमिर, खेर्सन, खार्किभ र दोनेत्स्क क्षेत्रमा पनि ड्रोन आक्रमण तथा गोलाबारी भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्।
क्षेत्रीय सैन्य प्रशासनबाट प्राप्त विवरणअनुसार पछिल्लो २४ घण्टामा युक्रेनभर रुसी आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु र १३२ जना घाइते भएका छन्।
आक्रमणका क्रममा युक्रेनसँग जोडिएको रोमानियाली सीमामा पनि रुसी ड्रोनको गतिविधि देखिएको थियो।
रोयटर्सका अनुसार रोमानियाको रक्षा मन्त्रालयले रुसी ड्रोन आफ्नो भूभागमा प्रवेश गरी युक्रेनको सीमासँग जोडिएको तुल्चिया काउन्टीको निर्जन क्षेत्रमा खसेको जनाएको छ।
युद्ध सुरु भएयता रुसी ड्रोनले रोमानियाली हवाई क्षेत्र पटकपटक उल्लङ्घन गरेको रोमानियाले बताउँदै आएको छ।
त्यसपछि रोमानियाले विस्फोटक बोकेको समुद्री ड्रोन आफ्नो तटीय क्षेत्रमा रहेको प्राकृतिक ग्यास परियोजनानजिक देखिएपछि दुईवटा एफ–१६ लडाकु विमान परिचालन गरेको जनाएको छ।
रोमानियाली रक्षा मन्त्रालयका अनुसार उक्त ड्रोनलाई नष्ट गरिएको थियो।
मोल्डोभाकी राष्ट्रपति माइया सान्डुले पनि बिहीबार आफ्नो देशको हवाई क्षेत्र पुनः उल्लंघन भएको बताइन्। उनका अनुसार एउटा ड्रोन मोल्दोभाको भूभागमा खसेको थियो।
युक्रेनमाथिको रुसी आक्रमणका बेला पोल्यान्डले पनि आफ्नो हवाई क्षेत्रको सुरक्षाका लागि सावधानीस्वरूप सैन्य उड्डयन अभियान सुरु गरेको रोयटर्सले जनाएको छ।
यसबीच रुस र युक्रेनबीच हवाई आक्रमण पनि पछिल्ला दिनमा तीव्र बनेका छन्। युक्रेनले आइतबार रुसतर्फ ८०० भन्दा बढी ड्रोन प्रहार गरेको थियो, जुन युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो हवाई आक्रमणमध्ये एक मानिएको छ।