राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरू भएको छ।
शुक्रबार बिहान ११ बजे बोलाइएको बैठक साढे १२ बजेपछि मात्र बसेको हो।
पहिलो महाधिवेशनपछि बसेको यो तेस्रो बैठक हो। आज केही केन्द्रीय सदस्य तथा पदाधिकारीको मनोनयन गर्ने कार्यसूची छ।
सभापतिको निर्देशनमा बोलाइएको बैठकमा दस्तावेज, सांगठनिक व्यवस्थापन र मनोनयन सम्बन्धी र योजना, कार्यक्रम तथा अभियान, पार्टीको मुखपत्रका रूपमा 'स्वतन्त्र' मासिक डिजिटल पत्रिका प्रकाशन र विविध गरी चार कार्यसूची रहेको भन्दै महामन्त्री विपिन आचार्यले मंगलबार सूचना जारी गरेका थिए।
बैठकले दस्तावेज अन्तर्गत स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन, राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने सम्बन्धमा छलफल र निर्णय गर्नेछ।
साङ्गठनिक व्यवस्थापन तथा मनोनयन अन्तर्गत केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य, विभागीय प्रमुखहरू, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन सम्बन्धी कार्यसूची छन्।
त्यस्तै, योजना, कार्यक्रम तथा अभियान अन्तर्गत केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्य नेतृत्वमा स्थानीय तहमा 'उम्मेदवार छनोट रूपरेखा' अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन सम्बन्धी कार्यसूची छन्।
पार्टीको मुखपत्रका रूपमा 'स्वतन्त्र' मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धी कार्यसूचीमा उल्लेख छ।
महामन्त्री आचार्यले जारी गरेको सूचनमा सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ।