सर्वोच्च अदालतको आदेशपछि अस्पताल लगिएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई फेरि जेलमा सारिएको छ।
सर्वोच्च अदालतले खानलाई उपचारका लागि जेलबाट अस्पताल सार्न मंगलबार सरकारलाई आदेश दिएपछि बिहिबार राति उनलाई इस्लामावादको शिफा अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
तर उनलाई फेरि शुक्रबार बिहानै जेलमा लगिएको पाकिस्तानका सरकारी अधिकारीहरूले जनाएका छन्।
'सर्वोच्च अदालतको निर्णय अनुसार अगस्ट २० र २१ रातिको बीचमा उचित सुरक्षा व्यवस्थाका साथ कैदीलाई अस्पताल लगिएको थियो,' पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले सामाजिक संजाल एक्समा लेखेका छन्।
'नेत्ररोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ र फिजिसियन सम्मिलित योग्य डाक्टरहरूको टोलीले उनको विस्तृत परीक्षण गरी उनलाई स्वास्थ्यका दृष्टिले फिट घोषणा गरेको थियो,' उनले थपे।
यो सम्पूर्ण प्रक्रिया पूरा भएपछि खानलाई शुक्रबार बिहानै राजधानी नजिकै रहेको रावलपिण्डीको अदियाला जेलमा फिर्ता पठाइएको हो।
सन् २०१८ देखि करिब चार वर्ष प्रधानमन्त्री छँदा बेलायतको 'नेसनल क्राइम एजेन्सी' ले फिर्ता पठाएको १९ करोड पाउन्ड हस्तान्तरण सहज बनाइदिए बापत एक व्यावसायिक घरानाबाट जमिन लिएको अभियोगमा खानले जेल सजाय काटिरहेका छन्।
यसबाहेक, आफ्नो पदावधिमा एउटा डिजाइनर गहना सेट र घडी लगायत सरकारी सम्पत्ति खरिद गर्नुअघि तिनको मूल्य कम आँकेको अभियोगमा उनलाई १७ वर्षको जेल सजाय पनि सुनाइएको थियो।
खानले यी सबै आरोपहरूलाई अस्वीकार गर्दै आएका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)