युक्रेनले रूसी ब्यालिस्टिक मिसाइल लन्चरमाथि ड्रोनले प्रहार गर्न स्टारलिंक प्रयोग गर्न इलन मस्कको अनुमति मागेको छ।
अमेरिकाले हवाई रक्षा प्रणालीका चाहिने इन्टरसेप्टर मिसाइलको आपूर्ति रोकेको बेला पछिल्लो समयमा रूसले युक्रेनमाथि ब्यालिस्टिक मिसाइलले लगातार प्रहार गरिरहेको छ।
यस्तो समयमा रूसी भूभागमा २०० किलोमिटरसम्म भित्र पसेर ब्यालिस्टिक मिसाइल लन्चरमाथि आक्रमण गर्न युक्रेनले अनुमति मागेको फाइनान्सियल टाइम्सले लेखेको छ।
रूसभित्रै गएर प्रहार गर्न स्टारलिंकको प्रयोग गर्न मस्कको अनुमति चाहिन्छ।
रूसभित्र युक्रेनले आक्रमण गर्न स्टारलिंकको प्रयोगबारे मस्कको दृष्टिकोण पटक-पटक परिवर्तन हुँदै आएको छ।
मस्कसँग प्रत्यक्ष सम्पर्क रहेको मानिएका पूर्व रक्षामन्त्री मिखाइलो फेडोरोभलाई गत महिना युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हटाएकाले युक्रेनलाई समस्या आएको हो।
रूसले पछिल्लो समयमा मिसाइल तथा ड्रोन आक्रमण तीब्र बनाएकाले धौ-धौ परिरहेका बेला युक्रेनले यस्तो अनुरोध गरेको हो।
जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अरू पश्चिमा राष्ट्रका नेताहरूसँग थप इन्टरसेप्ट मिसाइलरहरू उपलब्ध गराउन पछिल्लो समयमा याचना गरिरहेका छन्। तर अमेरिका र इरानबीचको युद्धमा लगायत मध्यपूर्वमा ती मिसाइलहरूको व्यापक प्रयोगले गर्दा ती अमेरिकी मिसाइलहरूको विश्वभरमै अभाव छ।
यस्तो बेलामा रूस भित्रै गएर ब्यालिस्टिक मिसाइल लन्चरमाथि प्रहार गर्न युक्रेनले मस्कको सहयोग मागेको हो।
रूसी सेनालाई स्टारलिङ्कको प्रयोग गर्नमा कडाइ गरेका कारण पछिल्ला महिनामा युद्धभूमिमा युक्रेनले सफलता पाइरहेको मानिन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)