प्रधानमन्त्री बालेन शाह सडकमार्गबाटै मुस्ताङ जाने भएका छन्।
निजी भ्रमणका लागि शुक्रबार पोखरा पुगेका प्रधानमन्त्री बालेन शनिबार मुस्ताङ जान लागेका हुन्।
मुस्ताङ जाने सडक म्याग्दीको बेनी-जोमसोम खण्डमा दुई ठाउँमा पहिरो खसेर अवरूद्ध भएको थियो।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरस्थित सडक माथिबाट शनिबार बिहान ५:२५ बजेको पहिरो पन्छाइसकिएको छ।
म्याग्दीकै रघुगंगा गाउँपालिका–२ बैसरीमा बिहान ५:३० बजे लेदोसहित खसेको पहिरो केही बेरअघि हटाइएको कालीगण्डकी करिडोर सडक आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए।
दुवै खण्डको पहिरो हटाइएर सडक दुई तर्फी नै सञ्चालनमा ल्याइएको उनले बताए।
सडक खुलेपछि प्रधानमन्त्री सोही मार्ग भएर मुस्ताङ जानेछन्।
उनी अहिले पोखराको अन्नपूर्ण इको भिलेज रिसोर्टमा छन्।