प्रधानमन्त्री बालेन शाहले शनिबार साँझ मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शन तथा पूजाअर्चना गरेका छन्।
निजी भ्रमणका क्रममा मुस्ताङ पुगेका बालेन साँझ साढे ७ बजे मुक्तिनाथ मन्दिर प्रवेश गरेका थिए। उनले करिब आधा घण्टा मन्दिरमा दर्शन तथा पूजाअर्चना गरेका हुन्।
मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार शाहले साँझ ७ः३० देखि ८ बजेसम्म मन्दिरमा पूजाअर्चना गरेका थिए। उनले मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीबाट टीका र प्रसाद ग्रहण गरेका थिए।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार पूजाअर्चना सकेर बालेन शनिबार साँझ नै जोमसोम फर्किएका छन्।
बालेन शुक्रबार परिवारसहित काठमाडौंबाट सडकमार्ग हुँदै पोखरा पुगेका थिए। उनले पोखराको अन्नपूर्ण इको भिलेज रिसोर्टमा रात बिताएका थिए।
शनिबार दिउँसो करिब ३ बजे बेनी–जोमसोम सडक हुँदै जोमसोम पुगेका उनी घरपझोङ–३ स्थित होटल ओम्स होममा केही समय आराम गरेर मुक्तिनाथतर्फ लागेका थिए।
प्रधानमन्त्री बालेनको मुस्ताङ भ्रमणका दिन बेनी–जोमसोम सडकखण्डमा पहिरोका कारण यातायात प्रभावित भएको थियो। शनिबार बिहान म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो खसेपछि सडक अवरूद्ध भएको थियो।
सुकेबगरको पहिरो हटाइए पनि बैसरीको पहिरो पन्छाएपछि प्रधानमन्त्री बालेन मुस्ताङ लागेका थिए।
प्रधानमन्त्री बालेन सडकमार्ग हुँदै मुस्ताङ जाने भएपछि बेनी–जोमसोम–मुक्तिनाथ सडकखण्डमा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
उनी आइतबार फर्कने तयारीमा रहेको बताइएको छ।