अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने केही वस्तुमा ५० प्रतिशत कर लगाएपछि क्यानडाले पनि अमेरिकाबाट आयात हुने स्टिल, दुग्धजन्य पदार्थ, विद्युतीय उपकरण, कृषि सामग्री, पल्प तथा कागजलगायतका वस्तुमा जवाफी कर लगाउने भएको छ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले शनिबार सेप्टेम्बर ८ देखि अमेरिकी उत्पादनमा नयाँ कर लागू गर्ने घोषणा गरेका हुन्।
उनले अमेरिकाले लगाएको नयाँ करको जवाफ ‘डलर फर डलर’ अर्थात् बराबरको दरमा दिने बताएका छन्।
'क्यानडाली कामदार, किसान, परिवार र व्यवसायको संरक्षण गर्न वासिङ्टनले लगाएको नयाँ करको हामी पनि डलर फर डलर बराबर जबाफ दिनेछौं,' कार्नीले पत्रकार सम्मेलनमा भने।
अमेरिका र क्यानडाबीच केही दिनदेखि जारी व्यापार वार्ता शुक्रबार रातिसम्म पनि सम्झौतामा पुग्न नसकेपछि ट्रम्पले क्यानडामाथि ५० प्रतिशत भन्सार दर लागू गरेका थिए।
अमेरिकी सरकारले शनिबार मध्यरातपछि करिब २० अर्ब डलरबराबरका क्यानडाली सामानमा ५० प्रतिशत कर पनि लगाइसकेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
जबाफमा क्यानडाले पनि बराबर भन्सार दर लगाउने भनेपछि दुई देशबीच फेरि तनाव सुरू भएको छ।
ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेको सुरूवाती समयदेखि नै क्यानडासँग सम्बन्ध राम्रो बनेको छैन। उनले क्यानडालाई अमेरिकाको ५१ औं राज्य र त्यतिबेलाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई ५१ औं राज्यको गभर्नर भनेर चिढ्याएका थिए।
अहिलेको विवादले उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता यूएस–मेक्सिको–क्यानडा एग्रिमेन्ट (युएसएमसिए) नवीकरणसम्बन्धी व्यापक वार्तालाई समेत थप कठिन बनाउने देखिएको छ।
अमेरिकी नयाँ करको दायरामा वाइन, फर्निचर, दुग्धजन्य पदार्थ, सिमेन्ट, कपडा, माछा मार्ने सामग्री र हक्की उपकरणलगायतका वस्तु परेका छन्। तुलनात्मक रूपमा कम प्रयोग हुने काठबाट प्रयोग हुने हक्की स्टिक समेत नयाँ करको सूचीमा परेको छ।
कार्नीले अमेरिका र क्यानडाबीचको व्यापार वार्तासमेत स्थगित भएको घोषणा गरेका छन्।
'मैले अमेरिकासँगको व्यापार वार्ता स्थगित गर्ने निर्णय गरेको छु र क्यानडाका वार्ताकारहरूलाई ओटावा फर्कन निर्देशन दिएको छु,' उनले विज्ञप्तिमा भने।
उनले क्यानडाका वार्ताकारहरूले अन्तिम समयसम्म इमानदारीपूर्वक क्यानडाली हितको रक्षा गरेको बताए।
'तर अमेरिकाले अन्तिम समयमा प्रस्तावित सर्तहरूमा गरेको परिवर्तन अन्यायपूर्ण, आर्थिक रूपमा अव्यावहारिक थिए र कुनै पनि सम्झौताको विश्वसनीयतामाथि प्रश्न उठाउने खालका थिए,' कार्नीले भने।
नयाँ कर घोषणा हुनुभन्दा केही घण्टाअघिसम्म अमेरिका र क्यानडा सम्झौताको निकै नजिक पुगेको देखिएको थियो।
स्रोतहरूका अनुसार सम्भावित सम्झौताले स्टिल, आल्मुनियम र अटोमोबाइलमा लाग्ने कर घटाउने र अमेरिकी मदिरालाई क्यानडाका सरकारी मदिरा पसलहरूमा पुनः बिक्री गर्न सकिने बाटो खोल्ने सम्भावना थियो।
तर अन्तिम चरणमा सम्झौता रोकियो।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले ह्वाइट हाउसमा भएको ब्रिफिङमा क्यानडाले सम्झौता अन्तिम रूप दिन अस्वीकार गरेको आरोप लगाए।
'आज राति क्यानडाले यसै साता सहमति भएका सर्तअनुसार व्यापार सम्झौतालाई अन्तिम रूप दिन अस्वीकार गर्यो,' ग्रियरले भने।
उनले यसलाई क्यानडाका लागि अवसर गुमेको भन्दै अमेरिकासँग साझेदारी गर्न नचाहेको आरोपसमेत लगाए।
'यो क्यानडाका लागि अमेरिकासँग साझेदारी गर्ने गुमेको अवसर हो, जुन जी–७ को सबैभन्दा तीव्र गतिमा बढिरहेको अर्थतन्त्र हो,' ग्रियरले भने।
ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीका अनुसार अमेरिकी प्रस्तावले क्यानडालाई अमेरिकामा निर्यात गर्ने प्रमुख देशहरूमध्ये सबैभन्दा अनुकूल करको अवस्थामा पुर्याउने थियो।
तर क्यानडाले स्टिल, आल्मुनियम, अटोमोबाइल र सफ्टवुड काठमा थप सहुलियत मागेपछि सम्झौता हुन नसकेको उनको भनाइ थियो।
अमेरिकी अधिकारीले नयाँ कर कार्यान्वयन भइरहँदा थप वार्ताको कुनै कार्यक्रम तय नभएको पनि बताएका छन्।
कार्नीले भने अमेरिकाले अन्तिम समयमा अघि सारेका नयाँ सर्तले सम्झौता क्यानडाका लागि अस्वीकार्य बनाएको बताएका छन्।
उनका अनुसार अमेरिकाले क्यानडाको भविष्यमा अन्य देशसँग व्यापार सम्झौता गर्न सक्ने क्षमतामाथि समेत अंकुश लगाउने खालका सर्त अघि सारेको थियो।
'हामी उनीहरूले प्रस्ताव गरेको कुरा स्वीकार गर्न सक्दैनौं र उनीहरूले मागेको कुरा हामी दिने छैनौं,' कार्नीले भने।
अमेरिकाको नयाँ करको जवाफमा क्यानडाले स्टिल, दुग्धजन्य पदार्थ, घरेलु उपकरण, कृषि उपकरण, पल्प तथा कागज र इलेक्ट्रोनिक्सलगायतका अमेरिकी उत्पादनमा कर लगाउनेछ।
सरकारले आगामी दिनमा जवाफी करको विस्तृत सूची सार्वजनिक गर्ने जनाएको छ।
क्यानडाले यसअघि पनि अमेरिकी करको विरोध गर्दै जवाफी कदम चाल्दै आएको छ।
नयाँ करसँगै अमेरिकाले पछिल्लो १८ महिनामा क्यानडाका स्टिल, काठ र अटोमोबाइल क्षेत्रमा लगाउँदै आएको विद्यमान करसमेत जोडिएको छ।
ती क्षेत्रहरूमा अमेरिकी नीतिको प्रभाव ठूलो परेको भए पनि त्यसको असर मुख्यतः सम्बन्धित उद्योगमै सीमित रहेको रोयटर्सले जनाएको छ।
कार्नी गत वर्ष अमेरिकी राष्ट्रपति ट्रम्पसँग कडा रूपमा वार्ता गर्ने प्रतिबद्धतासहित प्रधानमन्त्री निर्वाचित भएका थिए।
उनी यसअघि दुई प्रमुख अर्थतन्त्रका केन्द्रीय बैंकको नेतृत्व गर्ने एकमात्र व्यक्ति हुन्।
क्यानडामा उनी अझै व्यापक रूपमा लोकप्रिय रहेको रोयटर्सले जनाएको छ।
विभिन्न सर्वेक्षणहरूले अधिकांश क्यानडाली नागरिक ट्रम्पसमक्ष थप सहुलियत दिन नहुने पक्षमा रहेको देखाएका छन्।
क्यानडाको प्रमुख विपक्षी कन्जरभेटिभ पार्टीका नेता पियरे पोइलिभ्रेले पनि सरकारको कदमलाई समर्थन गरेका छन्।