इरानले आफ्ना छिमेकी मुलुकहरूलाई चेतावनी दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कडा आर्थिक नाकाबन्दी लगाएको छ। त्यसमा सहयोग गर्नेहरूलाई आफूले शत्रु ठान्ने चेतावनी इरानले दिएको हो।
ट्रम्पले पनि इरानलाई सहयोग गर्ने वा ऊसँग व्यापार गर्ने देशमाथि आर्थिक कारबाही गर्ने चेतावनी दिएका छन्।
त्यसमा टिप्पणी गर्दै इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका नयाँ प्रमुख मोहसेन रेजाईले आफ्नो अर्थतन्त्रमाथि दबाब दिने अमेरिकाको नयाँ प्रयासमा सहभागी नहुन छिमेकी देशहरूलाई यस्तो चेतावनी दिएका हुन्।
इरानको सरकारी टेलिभिजनसँग कुरा गर्दै त्यस्तो अमेरिकी प्रयासमा सहभागी भए स्ट्रेट अफ हर्मुज छलेर खाडी क्षेत्रबाट बाहिरिने तेल ढुवानीका वैकल्पिक मार्गहरूमा पनि आक्रमण गर्ने रेजाईले चेतावनी दिएका छन्।
सन् १९८०-८८ सम्म भएको इराकसँगको युद्धको अधिकांश समय इस्लामिक रिभोलुसनरी गार्ड कोर्सका कमाण्डर-इन-चिफ रहेका रेजाईले जारी युद्धमा इरानसँग अझै धेरै विकल्पहरू बाँकी रहेको पनि दाबी गरेका छन्।
'हामीले अहिलेसम्म कुनै पनि अमेरिकी आर्थिक स्वार्थमाथि आक्रमण गरेका छैनौँ। अहिलेसम्म हामीले केवल सैन्य बेसहरूलाई मात्र निशाना बनाएका छौँ, तर यदि उनीहरू हामीमाथि आर्थिक प्रतिबन्ध लगाउन चाहन्छन् भने, इरान वरपर र अन्य ठाउँमा अमेरिकाका तेल तथा आर्थिक कम्पनीहरू छन्, र हामी तिनीहरूमाथि प्रहार गर्नेछौं,' शनिबार प्रसारित अन्तर्वार्तामा रेजाईले भने।
ट्रम्पले गत हप्ता इरानको अर्थतन्त्रलाई तहसनहस पार्न नयाँ अभियानको घोषणा गरेका थिए। यो युद्ध छैटौं महिनातर्फ धकेलिँदै गर्दा इरानलाई सहयोग गर्ने वा उनीहरूसँग व्यापार गर्ने जुनसुकै देशले गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने धम्की दिएका थिए। अमेरिकाको सो कदम पछित्यसमा सामेल नहुन छिमेकी राष्ट्रहरूलाई रेजाईले चेतावनी दिएका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)