नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुलुक सुगौलीसन्धी यताकै भयानक संकटमा रहेको बताएका छन्।
आइतबार कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रियामा बोल्दै मुलुक साँच्चिकै भयानक संकटमा रहेको बताएका हुन्।
'अहिले देश साँच्चै संकटमा छ। राष्ट्रिय स्वाधीनतामा सुगौली सन्धिपछि सायद यति भयानक संकट कहिल्यै देखिएको थिएन,'व उनले भने।
यो संकट पार लगाउन पनि कम्युनिस्टहरू बीच एकताको खाँचो रहेको संयोजक प्रचण्डले बताए।
'यो संकटबाट पार पाउन र जनताको विकास तथा समृद्धिको आकांक्षा सम्बोधन गर्न कम्युनिस्ट आन्दोलनको एकता नै मुख्य साँचो हो,' उनले भने।
संयोजक दाहालले नेपालको राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्गका मुद्दा र वैदेशिक हस्तक्षेपविरुद्धको सङ्घर्षलाई उचित प्राथमिकता दिन नसक्दा अहिलेको असाधारण संकट उत्पन्न भएको बताए।
उनले विगतका कमजोरीहरूप्रति राजनीतिक दलहरूले एक–अर्कालाई दोषारोपण गर्नुको सट्टा सामूहिक रूपमा गम्भीर आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए।
संयोजक दाहालले राष्ट्रिय स्वाधीनता र देशभक्तिपूर्ण आन्दोलनको कम्युनिस्ट आन्दोलनसँग ‘नङ र मासु’ को सम्बन्ध रहेको चर्चा गर्दै साझा निकासका लागि चिन्तन र मनन गर्न उपस्थित विभिन्न दलका प्रतिनिधिलाई आह्वान गरे।
कम्युनिस्ट शक्तिहरूको एकता र सहकार्यले मात्र राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढीकरण सम्भव हुने उनको भनाइ छ।