अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यलाई लिएर चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन्।
ट्रम्पको हातमा निलडाम, खुट्टा सुनिने र सार्वजनिक कार्यक्रममा निद्रालु देखिएको विषयमा यसअघि नै उनको स्वास्थ्यलाई लिएर टिका टिप्पणी हुँदै आएको छ।
अहिले अर्को समस्या पनि देखिएको भनेर अमेरिकी अखबार वासिङ्टन पोस्टले लेखेको छ।
पछिल्लो समय ट्रम्पको तौल अस्वभाविक रूपमा बढेको देखिएको पोस्टले चिकित्सकहरूलाई उद्धृत गर्दै भनेको छ। उनको बढ्दो तौललाई पनि चिकित्सकहरूले स्वास्थ्य जोखिमका रूपमा औंल्याएका छन्।
ह्वाइट हाउसले गत मेमा सार्वजनिक गरेको स्वास्थ्य प्रतिवेदनअनुसार ट्रम्पको तौल १०८ किलो छ।
सन् २०२३ मा जर्जियामा निर्वाचन हस्तक्षेपसम्बन्धी मुद्दामा पक्राउ पर्दा उनको रेकर्डमा तौल करिब ९७.५ किलो उल्लेख थियो। यस हिसाबले पछिल्लो तीन वर्षमै उनको तौल करिब १०.५ किलो बढेको देखिन्छ।
ट्रम्पको उचाइ ६ फिट ३ इन्च अर्थात् करिब १.९१ मिटर छ।
यस आधारमा १०८ किलो तौल मोटोपनाको श्रेणी नजिक छ। सन् २०१९ र २०२० मा भने उनको तौल मोटोपनाको श्रेणीमा परेको थियो।
चिकित्सकहरूले ट्रम्पलाई तौल घटाउन, खानपान सुधार्न र नियमित शारीरिक गतिविधि बढाउन सुझाव दिएको वासिङ्टन पोस्टले जनाएको छ।
ट्रम्प फास्ट फुडमा रूची राख्छन्। उनी व्यायाममा पनि खासै रूचि देखाउँदैनन्। तर उनी नियमित रूपमा गल्फ खेल्छन् र लामो बैठक तथा सार्वजनिक कार्यक्रममा सक्रिय रहने गरेका छन्।
जर्ज वासिङ्टन विश्वविद्यालयका चिकित्सक तथा नेसनल सेन्टर फर वेट एन्ड वेलनेसका निर्देशक स्कट काहानले मोटोपना धेरै स्वास्थ्य समस्याको जड हुने बताए।
यो समयअगावै अशक्तता र मृत्यु हुने जोखिमको प्रमुख कारक रहेको काहान बताउँछन्।
'राष्ट्रपतिले स्वास्थ्यलाई ख्याल गरी मोटोपना घटाउनतिर लाग्नुपर्छ,' उनले वासिङ्टन पोस्टसँग भने।
ट्रम्पका पूर्वचिकित्सक रोनी ज्याक्सनले पनि सन् २०१८ मा ट्रम्पको तौल करिब १०८.४ किलो रहेको बताएका छन्। वर्षमा साढे चारदेखि ७ किलो तौल घटाउनु ट्रम्पको स्वास्थ्यका लागि राम्रो हुने उनले बताएका छन्।
ट्रम्पको तौल सन् २०१९ मा उनको तौल करिब ११० किलो र सन् २०२० मा करिब १११ किलो रहेको विवरण सार्वजनिक भएको थियो।
ट्रम्पले सन् २०१६ मा आफू ७ देखि ९ किलो तौल घटाउन चाहेको बताएका थिए।
तर पहिलो कार्यकालमा उनको तौल घट्नुको सट्टा बढेको थियो। सन् २०२३ मा भने उनको चुनावी अभियानले खानपान सुधार र दैनिक शारीरिक गतिविधिका कारण उनले तौल घटाएको जनाएको थियो।
हालै तौल घटाउने औषधि रिटाट्रुटाइडसम्बन्धी एक रिपोर्टपछि पनि ट्रम्पले यस्तो औषधि प्रयोग गरेको हुनसक्ने चर्चा भएको थियो।
ह्वाइट हाउसले ट्रम्पले उक्त औषधि प्रयोग गरेको कुरा अस्वीकार गरेको छ। ट्रम्पले आफूले कहिल्यै तौल घटाउने औषधि नलिएको बताएका छन्।
चिकित्सकहरूले भने उमेर बढ्दै जाँदा केवल तौल वा बिएमआई हेरेर स्वास्थ्य निर्धारण गर्न नहुने बताएका छन्। शरीरमा बोसोको मात्रा, विशेषगरी पेट वरिपरिको बोसो, शारीरिक क्षमता र समग्र स्वास्थ्य पनि महत्वपूर्ण हुने उनीहरूको भनाइ छ।
ह्वाइट हाउसले भने ट्रम्पको स्वास्थ्यबारे उठेका प्रश्नको प्रत्यक्ष जवाफ नदिई उनको ऊर्जा, मानसिक क्षमता र काम गर्ने क्षमताको प्रशंसा गरेको छ।
प्रवक्ता डेभिस इन्गलले ट्रम्पले असाधारण ऊर्जा र अथक कार्यक्षमताका साथ काम गरिरहेको बताएका छन्।
ट्रम्प स्वयं पनि तौल बढ्न नदिने विषयमा ठट्टा गर्दै आएका छन्। उनले अमेरिकाका पूर्वराष्ट्रपति विलियम हावर्ड ट्राफ्टलाई सम्झँदै आफू अमेरिकी इतिहासकै सबैभन्दा भारी राष्ट्रपति बन्न नचाहेको बताएका थिए।