पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको सचिवालयले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुऱ्याउने उद्देश्यले फैलाएका भ्रामक, तोडमरोड गरिएका, धम्कीपूर्ण तथा घृणा उत्पन्न गर्ने सामग्रीबाट सतर्क रहन अपिल गरेको छ।
भट्टराईलाई जोडेर पुराना सामग्री तोडमोड गरी सामाजिक सञ्जालहरूमा पोस्ट गरेको पाइएको भन्दै सचिवालयले विज्ञप्तिसमेत जारी गरेको छ।
‘यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूहहरू र उनीहरूले प्रयोग गरिरहेका सामाजिक सञ्जालका खाताहरूमाथि नेपाल सरकारले गम्भीर निगरानी राखी आवश्यक अनुसन्धान गर्न तथा प्रचलित कानुनबमोजिम कडा कारबाही अघि बढाउन हार्दिक अनुरोध गर्दछौं,’ सचिवालयले भनेको छ।
अभिव्यक्ति तथा वैचारिक स्वतन्त्रताको सम्मान गर्दै कसैको धार्मिक आस्था, व्यक्तिगत सुरक्षा, प्रतिष्ठा तथा सामाजिक सद्भावमाथि आघात पुऱ्याउने गतिविधिमा भने राज्यले प्रभावकारी कानुनी हस्तक्षेप गर्न आवश्यक रहेको सचिवालयको भनाइ छ। धार्मिक स्वतन्त्रता, वैचारिक स्वतन्त्रता, वैज्ञानिक चेतना, सामाजिक न्याय र सहिष्णुताको रक्षा गर्दै घृणा, हिंसा र विभाजन फैलाउने प्रयासलाई निरुत्साहित गर्नपर्ने सचिवालयले जनाएको छ।
‘पछिल्लो समय केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने उद्देश्यले बहुसंख्यक हिन्दू धर्मावलम्बीहरूको धार्मिक आस्थालाई प्रयोग गरी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई हिन्दूविरोधीका रूपमा चित्रित गर्ने प्रयास गरिरहेका छन्। यसका लागि पुराना भिडियो तथा अभिव्यक्तिहरूलाई तोडमरोड गर्ने, भ्रामक तस्बिर तथा पोस्टर बनाएर सामाजिक सञ्जालमा प्रचार गर्ने र धार्मिक घृणा तथा सामाजिक विभाजन फैलाउने गतिविधि भइरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ सचिवालयले भनेको छ।