अमिरिकाले इरानी ड्रोन खसाल्न सस्ता प्रतिरक्षा हतियार (इन्टरसेप्टर) उत्पादन सुरू गरेको छ।
इरानको सस्ता ड्रोनहरूको आक्रमण रोक्न अमेरिका र उसका मध्यपूर्वका सहयोगी देशहरूको महँगा महँगा प्रतिरक्षा हतियार प्रयोग हुँदा हतियार भण्डार नै घट्न थालेपछि अमेरिकाले सस्ता प्रतिरक्षा हतियारको उत्पादन थालेको हो।
अमेरिकी अखबार द न्युयोर्क टाइम्सका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको अमेरिकी कारखानामा त्यस्ता सस्ता प्रतिरक्षा हतियारको उत्पादन सुरू भएको हो।
खासगरी यो प्रतिरक्षा हतियारले ड्रोनका लागि मात्रै हो। युएईमा अमेरिकी स्टार्टअप पावर्सले एउटा सानो कारखानामा इन्टरसेप्टर उत्पादन गरिरहेको बताइएको छ।
गत महिना सञ्चालनमा आएको युएईको कारखाना फ्लोरिडास्थित पावर्सको मध्यपूर्वमा रहेको पहिलो हतियार उत्पादन केन्द्र हो।
सो कारखानामा कामदारहरूले दैनिक १२ घण्टासम्म काम गरिरहेका छन्। पावर्सले सो इन्टरसेप्टरलाई 'गार्डियन' नाम दिएको छ।
यसले प्रतिघन्टा ३२० किलोमिटरसम्म उडेर इरानी ड्रोनलाई आकाशमै नष्ट गर्न सक्ने बताइएको छ।
कम्पनीका अनुसार उसका विभिन्न कारखानाले अहिले महिनामा करिब ३ हजार इन्टरसेप्टर उत्पादन गरिरहेका छन्। सन् २०२७ को मध्यसम्म विश्वभर उत्पादन क्षमता बढाएर महिनामा १५ हजार पुर्याउने लक्ष्य कम्पनीको छ।
गार्डियनको मूल्य करिब ५ हजार अमेरिकी डलर अर्थात् करिब ७ लाख रुपैयाँ पर्छ।
यो इन्टरसेप्टर युक्रेनमा रुसी ‘शाहेद’ ड्रोनविरुद्ध प्रभावकारी देखिएको डिजाइनमा आधारित छ। यसको पार्ट्स जोड्न सकिने गरी बनाइएको छ र बजारमा सजिलै पाइने माइक्रोचिप तथा जिपिएस मोड्युल प्रयोग गरिन्छ।
गार्डियन ब्यालिस्टिक मिसाइल खसाल्न भने सक्षम छैन।
त्यसका लागि लकहिड मार्टिनको पीएसी–३ जस्ता महँगा इन्टरसेप्टर आवश्यक पर्छन्। तर इरानले ठूलो संख्यामा ड्रोन प्रयोग गरिरहेकाले सस्तो इन्टरसेप्टरको माग बढेको छ।
युद्ध सुरु भएपछि युएईमा ५०० भन्दा बढी ब्यालिस्टिक मिसाइल र २ हजार २०० भन्दा बढी इरानी ड्रोन प्रहार भएको बताइएको छ। ती आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको, सयौँ घाइते भएको, एउटा तेल प्रशोधन केन्द्र बन्द भएको र अमेजनका दुई डेटा सेन्टरमा क्षति पुगेको उल्लेख छ।
पावर्सले युएईको स्थानीय कम्पनीलाई आवश्यक पार्ट्स, सफ्टवेयर र तालिम उपलब्ध गराएर त्यहीँ इन्टरसेप्टर उत्पादन गरिरहेको छ। कारखानामा अधिकांश फिलिपिनो र चिनियाँ कामदार छन्। अहिले दैनिक करिब ३० वटा उत्पादन भइरहेकोमा चाँडै दैनिक १०० पुर्याउने लक्ष्य राखेको कम्पनीलाई उद्धृत गरेर न्युयोर्क टाइम्सले लेखेको छ।
कम्पनीले मध्यपूर्वको तेल तथा ग्यास पूर्वाधार सुरक्षाका लागि २ करोड २० लाख डलरको व्यावसायिक सम्झौता गरेको छ।
पावर्सको मोडलले अमेरिकी रक्षा उद्योगमा पनि परिवर्तनको संकेत देखाएको छ। लकहिड मार्टिनले समेत युरोपेली साझेदारसँग मिलेर कम लागतको इन्टरसेप्टर उत्पादन गर्ने योजना बनाएको छ। यद्यपि त्यसको अनुमानित मूल्य करिब २० लाख डलर हुनेछ, जुन पीएसी–३ भन्दा करिब आधा हो।
युएईमा पावर्स एक्लो अमेरिकी कम्पनी भने होइन। रेथियनले पनि त्यहाँ ‘कोयोट’ इन्टरसेप्टर उत्पादनका लागि साझेदारी गरिसकेको छ, जसको एउटा युनिटको अनुमानित मूल्य १ लाख २६ हजार ५०० डलर छ। क्यालिफोर्नियास्थित अर्को स्टार्टअप नेरोसले पनि करिब ५ हजार डलर पर्ने ‘ब्यान्डिट’ इन्टरसेप्टर विकास गरिरहेको छ।
पावर्सको सुरुवात भने सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेपछि भएको थियो।
संस्थापक माइकल सिनेनस्की र उनका साझेदारले युक्रेन पुगेर ड्रोन युद्धको प्रभाव प्रत्यक्ष देखेपछि सस्तो र ठूलो संख्यामा उत्पादन गर्न सकिने ड्रोन प्रतिरोधी प्रणाली विकास गर्ने योजना अघि बढाएका थिए।
यो इन्टरसेप्टर प्रभावकारी देखिए मध्यपूर्वमा रहेको अमेरिकी अड्डाहरूमा प्रयोग हुन सक्छ। यसले अमेरिकी हतियार भण्डारमा परेको दबाब केही कम गर्न सक्छ।