युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँग जारी युद्धबीच चुनाव गराइए देशै नरहन सक्ने खतरा उत्पन्न हुने बताएका छन्।
आइतबार पत्रकारहरूसँगको कुराकानीमा जेलेन्स्कीले युद्ध जारी रहेकै बेला चुनाव गराउँदा देश विभाजित भएर नष्ट हुन सक्ने चेतावनी दिएका हुन्।
'यदी हामी देशै नै नरहोस् भन्ने चाहन्छौं भने यस्तो युद्धकाबीच पनि चुनावमा जान सक्छौं,' जेलेन्स्कीले पत्रकारहरूलाई भने।
उनले सहयोगी राष्ट्रहरूले पर्याप्त सुरक्षा सुनिश्चित गरेको खण्डमा भने निर्वाचन सम्भव हुन सक्ने बताएका छन्। तर सहयोगी राष्ट्रहरूबाट अहिलेसम्म कुनै यस्तो योजना प्रस्तुत नभएको उनले बताएका छन्।
'अहिले निर्वाचन गराउनु राज्यका लागि सुनामीजस्तै हुनेछ, जसले युक्रेनलाई विभाजित गर्नेछ,' जेलेन्स्कीले भने।
उनले आफ्नो रणनीति देशलाई युद्धबाट बाहिर निकाल्ने र युक्रेनको स्वतन्त्रता र सार्वभौमसत्ता जोगाउनेमा केन्द्रित रहेको पनि उनले बताएका छन्।
जेलेन्स्कीको यो प्रष्टीकरण गत महिना उनैले पदबाट हटाएका लोकप्रिय रक्षामन्त्री मिखाइलो फेदोरोभको टिप्पणीपछि आएको हो।
फेदोरोभले युद्धप जारी रहे पनि युक्रेनमा चुनाव गराउनुपर्ने माग गरेका थिए।
'कुनै निश्चित निर्णयहरू किन लिइन्छन् भन्ने कुरा नबुझी जनता निरन्तर यस्तो अवस्थामा बसिरहन सक्दैनन्,' उनले भनेका थिए, 'हामीले पुटिनलाई युक्रेनीहरूले कहिले आफ्नो सरकार छनोट गर्न पाउँछन् भन्ने निर्णय गर्न दिन हुँदैन।'
फेदोरोभलाई जेलेन्स्कीले गत महिना रक्षामन्त्रीबाट हटाएपछि देशका विभिन्न स्थानमा उनको समर्थनमा प्रदर्शनसमेत भएका थिए।
उनी जेलेन्स्कीका लामो समयदेखिका सहयोगी भए पनि पछिल्लो समय सम्भावित राजनीतिक चुनौतीका रूपमा समेत हेरिँदै आएका छन्। उनले भने आगामी निर्वाचनमा आफू उम्मेदवार बन्ने वा नबन्ने स्पष्ट गरेका छैनन्।
रूसले सन् २०२२ को फेब्रुअरीमा पूर्णस्तरको आक्रमण सुरु गरेपछि युक्रेनमा राष्ट्रिय निर्वाचन भएको छैन। जेलेन्स्कीको राष्ट्रपतीय कार्यकाल पनि यसबीच सकिएको भए पनि युद्धका कारण निर्वाचन स्थगित हुँदै आएको छ।
युक्रेनी कानुनले युद्धको अवस्थामा निर्वाचन गर्न रोक लगाएको छ।
जुलाई महिनामा फेदोरोभलाई रक्षामन्त्रीको पदबाट बर्खास्त गरेपछि जेलेन्स्कीविरुद्ध देशभर विरोध प्रदर्शन सुरु भएको थियो।
युद्धभूमिमा नयाँ प्रविधिको विकास गर्न प्रेरित गरेको श्रेय पाएका लोकप्रिय मन्त्री फेदोरोभको पछिल्लो टिप्पणीले जेलेन्स्कीमाथि देशभित्रै थप दबाब पारेको छ।
उनलाई हतियार खरिद र ड्रोन उत्पादन तीव्र पारेको तथा निकै अपारदर्शी मन्त्रालयको कर्मचारीतन्त्रमा सुधार ल्याएको श्रेय दिइन्छ।
पछिल्ला महिनाहरूमा उनको मन्त्रालयले ठूलो संख्यामा उत्पादित ड्रोनहरूको प्रयोग गरेर आफूभन्दा ठूलो र बढी साधन स्रोत भएको रूसलाई अप्ठ्यारो पारेको मानिन्छ।
३५ वर्षीय फेदोरोभ गत जनवरीमा मात्र नियुक्त भएका थिए। तर जेलेन्स्कीले फेदोरोभ र युक्रेनका शीर्ष जनरल ओलेक्सन्डर सिर्सकीबीच मतभेद बढेकाले मिलेर काम गर्न नसकेको भन्दै उनलाई हटाएका थिए।