सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन आचार्यले दुइटा विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले काठमाडौंको होस्टलमा दाङका एक विद्यार्थीको हत्या भएको घटना र गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनासँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
शंखमुलको होस्टलमा २२ वर्षीय बसन्त कालाथोकीको हत्या भएको खबर सुनेर दाङमा उनकी आमाको पनि मृत्यु भएको थियो।
विदेशमा रहेका बसन्तका बुवा आकस्मिक रूपमा घर आउन खोजे पनि आउन नपाइरहेको विषयमा उनले सरकारको ध्यानाकर्षण गराएका हुन्।
'छोरा बितेको, श्रीमती बितेको अवस्थामा घर आउन यति धेरै समय लाग्ने परिस्थिति छ। विदेश जाने रोक्ने स्थिति बनाउन निकै समय लाग्छ। तर विदेश जाँदा घरमा हुने आकस्मिक कुराहरूमा चाहिँ उहाँहरूलाई उच्च प्राथमिकता दिएर देशमा ल्याउन सक्ने मेकानिजम् बनाउनुपर्छ,' उनले भने।
घटनाले काठमाडौंको होस्टलहरूमा सुरक्षाबारे पनि प्रश्न उठेको उनले बताए।
'देशभरिबाट सपना बोकेर आउने विद्यार्थीहरूको सुरक्षालाई हामीले कसरी मोनिटरिङ गरिरहेका छौं भन्ने कुरामा काम पनि गर्नुपर्छ,' उनले भने।
सांसद आचार्यले बलात्कारपछि हत्या गरिएकी बाराकी गरिमा चौधरीको बुवा आमाले मन्त्रालयमा धन्यवाद भनेको भिडिओ सार्वजनिक गरिएको प्रति पनि सरकारको ध्यानाकर्षण गराए।
साथै आरोपितको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरिएको विषयमा पनि उनले आपत्ति जनाएका छन्।
'कस्तो समाज बनाइरहेका छौं? मृतकका बाबुआमाले धन्यवाद भनेको भिडिओ मन्त्रालयमा खिचिन्छ। कहिँ मेडिकल गर्दै गर्दा आरोपीले बोलेका कुराहरूलाई सार्वजनिक गरिन्छ। यस्तो क्रियाकलाप बन्द गरिनुपर्छ,' उनले भने।