सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारशमणि गेलालले कोशीले कटान गरेर विस्थापित भएकाहरूबारे आफूले संसदमा प्रश्न उठाएको १५ दिन बितिसक्दा पनि सरकारले ध्यान नदिएको बताएका छन्।
'म कुन कुन मन्त्रलायमा गएर कुन कुन मन्त्रीलाई भेटेर साष्टाङ्ग दण्डवत गर्नुपर्ने हो नागरिकको तर्फबाट त्यो गर्न तयार छु', प्रतिनिधि सभाको आजको बैठकमा गेलालले भने, 'अहिलेसम्म २२ वटा परिवार विस्थापित भएर कोशिका आधारभूत विद्यालयमा बस्न बाध्य हुनु भएको छ। '
उनले कोशीमा बाँध लगाउन र ड्याम बनाउन रोकिनुको कारण माग गरे।
'त्यहाँका अविभावकहरूको भरोसाको केन्द्र प्रधानमन्त्री वालेन्द्र शाह हुनुहुन्छ', गेलालले भने, 'विस्थापित परिवारका एक बुवाले विदेशमा भएको छोरालाई तँ चिन्ता नगर, बालेन सरकारले हामीलाई हेर्नुहुन्छ भन्नुभएछ।'
उनले कोशी कटानबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।
'मैले धेरै मन्त्रीसँग मौखिक रुपमा ध्यानाकर्षण गराएँ। सुनुवाइ हुन सकेन। प्रधानमन्त्रीको कार्यालयमा आधिकारिक पत्र दर्ता गराएको छु', गेलालले भने, 'फेरि पनि ध्यानाकर्षण गराउन चाहन्छु।'