प्रतिनिधि सभामा सांसदहरूले बलात्कारी प्रमाणित अभियुक्तलाई मृत्यु दण्डको सजाय हुने कानुन बनाउनुपर्ने बताएका छन्।
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विपक्षी सांसदहरूले बाराकी गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाबारे बोल्दै बलात्कारका अभियुक्तलाई फाँसीको सजाय हुने कानुन बनाउनुपर्ने बताएका हुन्।
सत्तारूढ रास्वपाकी सांसद ऋद्धा कुँवरले संवधिानको धारा १६ र १७ ले मृत्यु दण्ड र देशनिकालाजस्ता सजाय निषेध गरेको भए पनि छोरी हुन पापजस्तो बन्दा बनिरहँदा संविधानको अक्षरमात्रै हेर्न नहुने बताइन्।
'अब कुने इफ् एन्ड बट हुँदैन सबै अपराधको प्रकृति र गम्भिरता एउटै हुँदैन,' उनले भनिन्, 'एउटा पाकेटमारलाई र एउटा बलात्कारीलाई एउटै कारागारमा राखेर सजाय दिन मिल्दैन। प्रमाणित बलात्कारी र जघन्य महिला हिंसाका अपराधीलाई कानुनको सजायको डर यति बलियो बनाइयोस् कि अपराध गर्ने सोँच नै जन्मिन नपाओस्।'
उनले पासाङ, सीता र पारिजातका कथा र गाथा सुनाउने समाजमा महिलाको वास्तविक यात्रा कति पीडादायी छ भन्ने कुरामा सदनमा रहेका सम्पूर्ण महिलाहरू अवगत रहेको बताइन्।
'जन्मिनुअघि नै छोरी भएकै कारण आमाको कोखमा हत्या हुन्छ। जन्मेर बोली फुट्न नपाउँदै उनी गरिमा चौधरी बन्छिन्। बाँचेर हिँडडुल गर्ने उमेर पुग्दा निर्मला पन्त र मुस्कान खातुन बन्छिन्। सबैबाट बँचेर बिहे भएर आफ्नो सबथोक छोडेर लक्ष्मी बनेर घर भित्रिँदा उनी दाइजोका नाममा पीडित हुन्छन्। आफ्नै श्रीमानबाट काटिन बाध्य हुन्छिन्,' उनले भनिन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद शाहजान खातुनले बलात्कार र बलात्कारपछि हत्या गर्ने जस्ता जघन्य अपराधीलाई उन्मुक्ति दिने ठाउँ राख्न नहुने बताइन्।
' निर्मला पन्तदेखि गरिमा चौधरीका परिवार न्याय पर्खेर बसेका छन्। भाषण मात्रै गरेर पुग्दैन। कानुन परिमार्जन गर्नुपर्छ,' उनले भनिन्, 'संविधान र मानवअधिकारका प्रचलित मान्यतासहित आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै जघन्य अपराधमा फाँसीको सजायको व्यवस्था गर्नेगरी कानुन परिमार्जन गर्नुपर्छ।
रास्वपाकै सांसद सोम शर्माले पनि बलात्कार गर्नेमात्र नभई यस्तो सोच्नेहरू समेत डराउने गरी कानुन बनाउनुपर्ने बताए ।
'आउनुस् हामी २७४ जना मिलेर यही सदनबाट सबैले यस्तो कानुन बनाऔं कि बलात्कार गर्नेलाइ मात्रै हैन यस्तो सोच आउनेको समेत शरीर थरथर कांपोस्,' उनले भने
रास्वपाकै सांसद सोम शर्माले पनि बलात्कार गर्नेमात्र नभई यस्तो सोच्नेहरू समेत डराउने गरी कानुन बनाउनुपर्ने बताए ।
'आउनुस् हामी २७४ जना मिलेर यही सदनबाट सबैले यस्तो कानुन बनाऔं कि बलात्कार गर्नेलाइ मात्रै हैन यस्तो सोच आउनेको समेत शरीर थरथर कांपोस्,' उनले भने।