सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सरकारी निकायमा युवाहरूलाई इन्टर्नसिपको व्यवस्था गर्नुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पराजुलीले मन्त्रालय, विभाग तथा अरू सरकारी निकायमा युवाहरूका लागि स्पष्ट कार्यादेशसहित पेड इन्टर्नसिपको व्यवस्था गर्नुपर्ने बताएका हुन्।
हरेक वर्ष हजारौं विद्यार्थी अध्ययन पूरा गरेर रोजगारीका लागि निस्कँदा सबै ठाउँमा अनुभव खोज्ने भएका यस्तो व्यवस्था गर्न उनको प्रस्ताव थियो।
'अनुभव बिना काम पाइँदैन, काम नभई अनुभव हुँदैन। बेरोजगारको पीडादायी चक्र यहीँबाट सुरु हुन्छ,' उनले भने।
युवा पुस्ता सूचना प्रविधि, डेटा साइन्स, एआई र प्रविधिमा दक्ष बन्दै गएको र सरकारी कर्मचारी संरचनामा पनि यस्ता सीप र ज्ञानको आवश्यकता रहेको उनले बताए।
ज्ञान र सीप भएका युवाहरू अवसरको खोजीमा विदेशिन बाध्य भइरहेको भन्दै उनले प्रतिभाशाली युवाका लागि सिंहदरबारमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।
'त्यही ज्ञान आर्जेका पुस्ता अवसरको खोजीमा विदेशिन बाध्य छ। त्यसकारण आजैबाट प्रतिभाशाली युवालाई सिंहदरबारको ढोका किन नखोल्ने?' उनले प्रश्न गरे।
श्रम ऐन, २०७४ को दफा १६ ले प्रशिक्षार्थीलाई काम सिक्दै अनुभव हासिल गर्ने कानुनी बाटो खुला गरिसकेको उल्लेख गर्दै उनले त्यसैलाई आधार बनाएर सरकारी निकायमा व्यवस्थित पेड इन्टर्नसिप कार्यक्रम सञ्चालन गर्न सकिने बताए।
उनले सरकारका मन्त्रालय, विभागलगायत सबै निकायमा युवाका लागि नीतिमार्फत नै स्पष्ट टिओआर तोक्ने व्यवस्था गर्नुपर्ने बताए।
त्यसअन्तर्गत हरेक वर्ष निश्चित संख्यामा विद्यार्थीलाई खुला प्रतिस्पर्धाबाट छनोट गरी निश्चित अवधिका लागि पारिश्रमिक सहितको इन्टर्नसिप दिने व्यवस्था गर्नुपर्ने उनको माग छ।
यस्तो कार्यक्रम स्थायी दरबन्दी सिर्जना गर्ने उद्देश्यको नभई युवालाई वास्तविक कामको अनुभव दिने, सरकारी संयन्त्रमा नयाँ ज्ञान तथा प्रविधि भित्र्याउने र रोजगारी बजारका लागि प्रतिस्पर्धी जनशक्ति तयार गर्ने माध्यम बन्न सक्ने उनले बताए।