कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
प्रदेश सभामा सोमबार भएको मतदानमा मुख्यमन्त्री कार्कीको विश्वासको पक्षमा कुल ५७ मत परेको थियो।
उनलाई नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रदेश सभा सदस्यहरूले मतदान गरेका थिए।
९३ सदस्यीय कोशी प्रदेश सभामा कायम संख्या ९२ छ।
नेकपा एमालेका ४० र माओवादी केन्द्रका १७ जना सदस्य रहेका छन्।
प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरूले भने मुख्यमन्त्री कार्कीको विपक्षमा मतदान गरेका थिए।
२९ सदस्य रहेको नेपाली कांग्रेसका तर्फबाट विपक्षमा जम्मा २२ मत खसेको थियो।
सभामुखसहित ५ सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू भने मतदान प्रक्रियामा तटस्थ बसेका थिए।
जनता समाजवादी पार्टी नेपालकी एक मात्र प्रदेश सभा सदस्य निर्मला लिम्बू बैठकमा अनुपस्थित थिइन्।