नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरू र रास्वपाका नेताहरूका लागि अभिमुखीकरण सम्पन्न भएको छ।
नेशनल डेमोक्रेटिक इन्स्टिच्युट (एनडिआई) को आयोजनामा संसद एवं निर्वाचन क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक ज्ञान, सीप र व्यवहारिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौंमा अभिमुखीकरण दिइएको हो।
गत शुक्रबारदेखि आइतबारसम्म एमालेका सांसदहरूलाई अभिमुखीकरण दिइएको थियो भने शनिबारदेखि सोमबारसम्म नेकपाका सांसदहरूलाई प्रशिक्षण दिइएको थियो। एमाले सांसदहरूलाई दिइएको अभिमुखीकरणको नेतृत्व महासचिव शंकर पोखरेल र नेकपाका सांसदहरूको नेतृत्व नेता वर्षमान पुनले गरेका थिए।
कानून निर्माण प्रक्रिया, कार्यविधिका नियम, संसदीय सेवा तथा संशोधनसम्बन्धी अभ्याससहित सांसदको भूमिकाको विषयमा नेकपाका सांसदलाई डा. खिमलाल देवकोटा र एमालेको तर्फबाट माधव पौडेलले प्रशिक्षण दिएका थिए।
प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदहरूलाई संवैधानिक भूमिका, कानून निर्माण प्रक्रिया, संसदीय निगरानी, निर्वाचन क्षेत्रसँगको सम्बन्ध, सार्वजनिक वित्त, नैतिकता तथा डिजिटल प्रविधिको प्रयोगलगायतका विषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।
प्रशिक्षणको सुरूवात संसदीय लोकतन्त्रका आधारभूत सिद्धान्त, नेपालको संवैधानिक व्यवस्था, राजनीतिक विकासक्रम र संघीयताको संरचनाबाट गरिएको थियो।
सांसदहरूलाई शक्ति पृथकीकरण, प्रतिनिधित्व र जबाफदेहिताको अवधारणासँगै संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँटबारे छलफल गराइएको थियो।
यस सत्रमा सांसदको भूमिकालाई संघीय संरचनासँग जोडेर हेर्नुका साथै संघीयता कार्यान्वयनसँगै सांसदले प्रदेश तथा स्थानीय सरकारसँग कसरी समन्वय गर्ने, आफ्ना निर्वाचन क्षेत्रका प्राथमिकतालाई कसरी नीतिगत तहमा लैजाने र विभिन्न तहका सरकारको अधिकार क्षेत्र बुझेर काम गर्ने विषयमा जोड दिइएको थियो।
सामान्य विधेयकको मस्यौदा निर्माणदेखि संसदमा प्रस्तुत गर्ने, समितिमा छलफल, संशोधन, सदनमा बहस र मतदान हुँदै प्रमाणीकरण सम्मका चरण र यसका चुनौती एवं समाधानबारे सांसदहरूलाई जानकारी गराइएको थियो।
सरकारले ल्याउने विधेयक र सांसदले प्रस्तुत गर्ने निजी विधेयकबीचको अन्तर, प्रमाणमा आधारित कानून निर्माण, संशोधन प्रस्ताव, दलको ह्विप र सांसदको व्यक्तिगत भूमिकाजस्ता विषयमा समेत छलफल भयो।
प्रशिक्षणमा सरकारमाथि संसदीय निगरानी तथा सत्तापक्ष र प्रतिपक्षका सांसदको भूमिकाबारे पनि छलफल गरिएको थियो।
यस सत्रमा पूर्वअमेरिकी सांसद स्टिभ ड्रिहाउसले विभिन्न देशहरूमा भइरहेको अभ्यासका साथै अविश्वासको प्रस्ताव, संसदीय समिति र सार्वजनिक सुनुवाइजस्ता निगरानी, सार्वजनिक लेखा समिति तथा विषयगत समितिको भूमिका र सरकारको कार्यसम्पादन तथा खर्चमाथिको निगरानीबारे जानकारी दिएका थिए।
साथै सत्तापक्षले सरकारलाई समर्थन गर्दै आवश्यक निगरानी गर्नुपर्ने र प्रतिपक्षले रचनात्मक आलोचना तथा वैकल्पिक नीतिमार्फत सरकारलाई जवाफदेही बनाउनुपर्ने विषयमा उनले जोड दिका थिए।
स्टिभले निर्वाचन क्षेत्रको प्रतिनिधित्व तथा पहुँच विस्तारमा युवाको भूमिकाबारे सत्रमा निर्वाचनका समयमा मात्र नभई नियमित रूपमा युवासँग जोडिने रणनीति, निर्वाचन क्षेत्रका नागरिकसँग निरन्तर सम्पर्क र संवाद कायम गर्ने तथा विभिन्न समुदायका माग र अपेक्षाबीच सन्तुलन कायम गर्दै प्रभावकारी रूपमा प्रतिनिधित्व गर्ने विषयमा प्रशिक्षण दिए।
अर्को सत्रमा स्टिभले संसद्को नैतिकता नामक सत्रमा प्रभावकारी विधायिकाका विशेषता, संसदीय मापदण्डको सुधार, लोकतान्त्रिक संसद्का सूचक, सांसदको आचारसंहिता, स्वार्थको द्वन्द्व, भ्रष्टाचारविरुद्धको संरचना तथा सूचनादाताको संरक्षणजस्ता विषयमा अभिमुखीकरण गराइएको थियो।
प्रशिक्षणमा संसदीय कार्यमा एआई तथा उदीयमान प्रविधिको प्रयोगबारे पनि छलफल गरिएको थियो। यस क्रममा डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै उत्पन्न चुनौती, साइबर सुरक्षा तथा डेटा संरक्षण, राष्ट्रिय सार्वभौमिकतामा पर्न सक्ने प्रभाव र डिजिटल संसद्को बदलिँदो स्वरूपबारे जानकारी दिइएको थियो। साथै, संसदीय कामलाई प्रभावकारी बनाउन एआई तथा अन्य उदीयमान प्रविधिको व्यावहारिक प्रयोग र यसको सुरक्षित तथा जिम्मेवार उपयोगबारे प्रत्यक्ष प्रदर्शनसमेत गरिएको थियो।
त्यस्तै, अर्को सत्रमा सामाजिक सञ्जालका एल्गोरिदम, गलत सूचना पहिचान तथा प्रतिरोध, सार्वजनिक व्यक्तिका लागि अनलाइन सुरक्षा, व्यक्तिगत र आधिकारिक सामाजिक सञ्जाल खाताको व्यवस्थापन तथा सञ्चारमाध्यमसँगको व्यवहारबारे समेत प्रशिक्षण दिइएको थियो।
एमालाई दिइएको प्रशिक्षणमा जनसांख्यिकीय परिवर्तन तथा जनसंख्याको प्रवृत्तिले नीतिमा पार्ने प्रभावबारे पनि छलफल गरिएको थियो। लेखक तथा अध्येत चेतन अधिकारीले यस क्रममा नेपालको जनसंख्याको संरचना, बढ्दो युवा जनसंख्या, आन्तरिक बसाइँसराइँ तथा सहरीकरण, वैदेशिक रोजगारीका कारण निर्वाचन क्षेत्रमा पर्ने प्रभाव र जनसंख्या वृद्धितर्फ देखिन थालेका संकेतबारे जानकारी गराउँदै निर्वाचन क्षेत्रको योजना तथा बजेट निर्माणमा जनसांख्यिकीय तथ्यांकको प्रभावकारी प्रयोग गर्नुपर्ने विषयमा जोड दिएका थिए।
प्रशिक्षणको समापनको क्रममा लोकतान्त्रिक व्यवस्था बलियो बनाउन तथा सांसदको क्षमता अभिवृद्धि एवं प्रशिक्षणमा एनडिआईले गरेको योगदानलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एमालेको तर्फबाट सचिव पद्मा अर्यालले प्रशंसा गरेका थिए। एनडिआइले रास्वपा केन्द्रीय सदस्यहरूलाई बूढानीलकण्ठमा शनिबार र आइतबार अभिमुखीकरण दिएको थियो। साथै रास्वपा सांसदहरूलाई आउँदो साता गोदावरीमा अभिमुखीकरण दिने तयारी छ।