सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रश्न सोध्न अरूचि देखाएका छन्।
प्रधानमन्त्रीसँग भदौ १० गते प्रतिनिधि सभा बैठकमा प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम छ।
सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न समय दिएका थिए। सभामुखले उक्त दिन १५ सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने व्यवस्था मिलाएका थिए।
प्रतिनिधि सभामा प्रतिनिधत्व गर्ने सबै दललाई कम्तिमा एउटा प्रश्न सोध्न दिने र बाँकी प्रश्न दलीय उपस्थितिका आधारमा सोध्न दिने घोषणा सभामुखले गरेका थिए।
जसअनुसार रास्वपा सांसदहरूले ७ वटा प्रश्न सोध्न पाउँथे। नेपाली कांग्रेसले २, नेकपा एमालेले २, नेपाली कम्युनिष्ट पार्टीले २ र श्रम संस्कृति पार्टी र राप्रपा नेपालले क्रमश एक एक प्रश्न सोध्न पाउँथे।
तर रास्वपाका केवल ३ जना सांसदले प्रश्न दर्ता गराएको पाइएको छ।
सांसद अमरेशकुमार सिंह, समीक्षा बास्कोटा र कृष्णहरि बुढाथोकीले मात्र प्रश्न दर्ता गराएका हुन्। जबकि रास्वपाका थप चार सांसदले प्रश्न सोध्न पाउँथे।
प्रश्न दर्ता गराउने सत्तारूढ सांसद सिंह पछिल्लो समय सरकारका कुटु आलोचकका रूपमा देखिएका छन्। उनले पछिल्लो पटक सरकारको प्रभाव र विश्वास घट्दै गएको टिप्पणी गरेका छन्। त्यस्तै अहिलेको सरकार बनेपछि अराजकता आएको जस्ता धारणा राख्ने गरेका छन्।
प्रश्न सोध्न नाम टिपाएका बाँकी दुई सांसदसमेत संसदीय समितिका सभापति हुन्। बास्कोटा कानुन न्याय तथा मानव अधिकार समिति र बुढाथोकी अर्थ समितिका सभापति छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरूङले प्रश्न दर्ता गराएका छन्।
नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेश सिंह ठगुन्नाले प्रश्न टिपाएका छन्।
नेकपाका सांसद वर्षमान पुन र प्रमेशकुमार हमालले प्रश्न दर्ता गराएका छन्।
श्रम संस्कृति पार्टी संसदीय दल नेता हर्कराज राई र राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले प्रश्न दर्ता गराएका छन्।
रास्वपा सांसदहरूले प्रश्न दर्ता गर्न किन अरूचि देखाए भन्ने खुलेको छैन।
जबकि रास्वपा महामन्त्रीसमेत रहेका सांसद विपिनकुमार आचार्यले नै संसदमा प्रधानमन्त्री र मन्त्रीसँग प्रश्नोत्तर हुनुपर्ने धारणा राखेका थिए।
प्रतिनिधि सभा बैठकमा रास्वपाकै सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न पनि सोधिरहेका छन्।
मंगलबार सांसद पारसमणि गेलालले कोशी कटानको विषयमा प्रधानमन्त्रीमाथि विश्वास रहेको भन्दै आफूले कार्यालयमा समेत पत्र दर्ता गराएको बताएका थिए।
अर्का सांसद मनिष झाले प्रधानमन्त्रीलाई लक्ष्य गर्दै केही दिनअघि संसदमै राज्य सञ्चालनको ढंग सुधार्नुपर्ने र कालो चस्मा खोल्नुपर्ने टिप्पणीसमेत गरेका थिए।