राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई घटनास्थलमै गोली ठोक्ने कानुन लागू गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्।
उनले बझाङकी सम्झना कामीदेखि कञ्चनपुरकी निर्मला पन्त, कैलालीकी माया कामी, रूपन्देहीकी अंगिरा पासी, खोटाङकी रेस्मिका परियार, म्याग्दीकी मिना परियार तथा हालै गरिमा चौधरीको बलात्कार र हत्याका घटनाको स्मरण गर्दै यस्ता आपराधिक घटनाको फेहरिस्त निकै लामो रहेको बताए।
उनले पीडितको नाम लिएर घटनामाथि लामो बहस गर्नु मात्र पर्याप्त नहुने भन्दै सरकारले महिलाको सम्मान, सुरक्षा र बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘केही समय पहिला बझाङमा सम्भलना कामीको बलात्कार र हत्या भयो, कञ्चनपुरमा निर्माला पन्तको बलात्कार र हत्या भयो, कैलालीमा माया कामीको बलात्कार र हत्या भयो। रूपन्देहीमा अंगिरा पासीको बलात्कार र हत्या भयो। पूर्वको खोटाङमा रेस्मिका परियारको समेत बलात्कार हत्या भयो, म्याग्दीमा मिना परियारको बलात्कार र हत्या भयो। र केहीदिन अघि मात्र गरिमा चौधरीको बलात्कार र हत्या भयो। यो बलात्कार र हत्याको फेहरिस्त धेरै लामो सुनाउन सकिन्छ। घण्टौंघण्टासम्म सुनाउन सकिन्छ। र लामो छलफल गर्न सकिन्छ।'
उनले अगाडि भने, 'तर हामी गरिमाको गरिमा जोगाउन सक्छौँ कि सक्दैनौँ। निर्माला पन्तको जन्त जाने हो कि मलामी जाने भन्ने विषयमा गम्भीर हुन जरूरी छ। चेलीले नाच्न र बाँच्न पाउनुपर्छ भन्ने कुरामा गम्भीर हुन जरूरी छ। बलात्कारी र भ्रष्टाचारी प्रमाणित भएको खण्डमा अन द स्पट गोली ठोक्ने कानुनको व्यवस्था तत्काल लागु गर्न आह्वान गर्दछु।’
उनले बलात्कार र भ्रष्टाचारका अपराधमा कुनै सम्झौता गर्न नहुने कुरामा जोड दिए।
–न्युज एजेन्सी नेपाल