राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु दर्शनाले कक्षा १ देखि कक्षा १२ सम्म यौन तथा प्रजनन शिक्षा अनिवार्य गर्न माग गरेकी छन्।
प्रतिनिधि सभाको बैठकमा उनले बलात्कार जस्ता जघन्य अपराधका घटना बढ्दै गएको उल्लेख गर्दै पाठ्यपुस्तकमा कम्तीमा विद्यालयमा बृहत् यौन तथा प्रजनन शिक्षा अनिवार्य गर्न माग गरिन्।
'विद्यालयका पाठ्यपुस्तकमा 'कम्प्रिहेन्सिभ सेक्स एजुकेशन' अनिवार्य गरियोस्। कक्षा १ देखि १२ सम्म अनिवार्य गरियोस्। हामी यौन तथा प्रजनन स्वास्थ्य शिक्षा भन्ने बित्तिकै मुख फर्काउँछौँ, त्यो हटाइयोस्', दर्शनाले भनिन्, 'हाम्रो फरेन्सिक जाँचको क्षमता अभिवृद्धि गरियोस्।'
उनले कुनै पनि घटना हुने बित्तिकै घटनास्थलमा पुग्ने प्रहरीको क्षमता वृद्धिमा पनि सरकारले काम गर्नुपर्ने बताइन्।
'महिलालाई/छोरीलाई जबसम्म सेक्स अब्जेक्टका रूपमा विज्ञापनमा, फिल्ममा, स्टोरीमा दर्शाइन्छ। तबसम्म महिला/छोरी सुरक्षित छैनन्,' दर्शनाले भनिन्, 'त्यो कुरामा सरकारलाई गम्भीर हुन अपिल गर्न चाहन्छु।'
उनले बैठकमा संस्कृतको 'या देवी सर्वभुते न शक्तिरुपणे ना...' भन्ने श्लोक समेत सुनाइन्। अनि थपिन्, 'यो समाजलाई छोरी र देवीलाई पुज्ने समाज सधैंभरी अगाडि रहिरहोस् भन्ने अपिल गर्न चाहन्छु।'