राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशमा मन्त्री रहेका पार्टीका तीन जना सांसदहरूलाई कारबाही गरेको छ।
पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टी केन्द्रको पटक पटकको निर्देशन, ह्वीप र केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय उल्लंघन गरेको पाइएकाले उनीहरूलाई कारबाही गरिएको हो।
राजु बिष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई केन्द्रीय अनुशासन समितिको सिफारिस बमोजिम आज पदमुक्त गरिएको प्रवक्ता श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।
बिष्ट, प्रजापति र तामाङ बागमती प्रदेशमा मन्त्री छन्।
तीन जना सांसदहरूलाई कारबाही गरिएकाबारे जानकारी प्रदेशसभा सचिवालयमा दर्ता गराइएको र उपसभामुखलाई समेत जानकारी दिइएको उनले बताए।
यसअघि राप्रपाले संसदीय दल नेताबाट उद्धव थापालाई पदमुक्त गरेको थियो।
राप्रपा केन्द्रको निर्देशन विपरीत बागमती प्रदेश संसदीय दल नेता थापाले एमाले सांसद किरण थापा मगरलाई मुख्यमन्त्री बन्न समर्थन गरेका थिए।
बागमती प्रदेश सरकार गठनको विषयलाई लिएर राप्रपाभित्र विवाद छ।